सिलवाललाई पक्रन प्रहरीलाई पत्र: उपत्यका छाडिसके सिलवाल

काठमाडौं, पुस १९ । कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई मंगलबार लेखेको पत्रमा ‘सर्र्वोच्च अदालतको फैसलाको सम्मानार्थ सिलवालमाथि सोधपुछ र बयान लिनुपर्ने भएकाले पक्राउ गरेर बुझाई सहयोग गरिदिनू’ भन्ने उल्लेख छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले सिलवालमाथि कासमू किर्ते प्रकरणमा आवश्यक सोधपुछ र बयान लिनुपर्ने भएकाले पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटिएको बताए ।

उनले भने, ‘ सम्मानित सर्वोच्च अदालतले कानुनबमोजिम गोप्य रहनुपर्ने कासमू फारम र सिलवालले सर्वोच्चमा पेस गरेको कासमू फारमको अंकमा के कसको संलग्नता छ भनेर अनुसन्धान गर्न भनेकाले हामीले तत्कालीन समयमा अदालतमा सिलवालले पेस गरेको कासमू कहाँ र कसरी पाएको हो भन्नेबारे सोधपुछ गर्नुपर्ने भएकाले उनलाई झिकाउन ललितपुर प्रहरीको सहयोग मागेका हौं ।’ सिलवालको गृहजिल्ला ललितपुर गोदावरी हो ।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सांसदसमेत रहेका सिलवालले भने मंगलबार बिहानै उपत्यका छाडिसकेको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *