फुलमायाको मृत्युपछि पात्लेखेतमा तनाव, प्रहरीद्धारा पाँच सेल अश्रुग्यास प्रहार

बनेपा, पुस १८ । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयको विरोध प्रदर्शनपछि तनाव उत्पन्न भएको छ । मृतकका परिवारलाई क्षतिपुर्ती दिनुपर्ने माग गर्दै स्थानीयले बाटो अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीयवासीद्धारा अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ ।

धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन अश्रुग्यास प्रहार गरेका हौँ”, प्रहरी उपरीक्षक थापाले भने ।

आइतबार काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात्रुवाहक बसले बाटो काट्न लागेका अवस्थामा ठक्कर दिएर गम्भीर घाइते भएकी नमोबुद्ध नगरपालिका–१ निवासी ३७ वर्षीया फूलमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा सोमबार मृत्यु भएको थियो ।

प्रहरीले क्षतिपूर्तिका विषयमा कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेको बताएको छ भने स्थानीयवासीले व्यवसायी छलफलका लागि वार्तामा नबसेका कारण दबाबस्वरुप राजमार्ग अवरुद्ध गरेको बताइएको छ । राजमार्ग अवरुद्ध भएपछि केहीबेर अरनिको राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन सञ्चालन भएका थिएनन् ।

स्थानीयवासी गौरी लामाले दवावस्वरुप प्रदर्शनमा उत्रेका स्थानीयवासीमाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै वार्ताका लागि तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *