राप्रपा नेता दिलनाथ गिरि पार्टी परित्याग गर्ने तयारीमा

काठमाडौं, पुस १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिलनाथ गिरिले पार्टी परित्याग गर्ने तयारी गरेका छन् । आफु सहित अन्य केही नेताहरु समेत पार्टी परित्याग गर्न आन्तरिक छलफल भइरहेको गिरिले मकालु खबरलाईबताए । उनले सम्भवत: आजै राप्रपाको साधारण सदस्यबाट समेत राजिनामा दिंदैछन् ।

शहरी विकास मन्त्री रहेका गिरिलाई पार्टी अध्यक्ष कमल थापाको सिफारिसमा प्रधानमन्त्री देउवाले हालै बर्खास्त गरेका छन् । मन्त्रालयमा सचिव सरुवाको विषयलाई लिएर उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापासँग मन्त्रिपरिषद बैठकमै भनाभन भएपछि गिरिलाई बर्खास्त गर्न थापाले प्रधानमन्त्रीलाई पत्र पठाएका थिए ।

गिरिले राप्रपा अध्यक्ष कमल थापा राजनीतिक मान्छे नै नभएको आरोप लगाएका छन् । आफूलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाउने कमल थापालाई मन्त्रीपरिषदमा बस्ने जनादेश नभएकोले उनले पनि राजीनामा दिनुपर्ने गिरिले बताए ।

थापालाई नाङ्गो चरित्रको राजनीतिक व्यक्ति भएको उनको टिप्पणी छ । ‘राजनीतिमा उनले जुन खालको नङ्नता प्रदर्शन गरिरहेका छन्, यो नग्नताका कारण उनको सात पुस्तासम्म बदनाम हुने स्थिति बनेको छ’ मन्त्री गिरिले भने ।

‘राजीनामा दिइसकेको व्यक्तिलाई बर्खास्तीका लागि पत्र पठाउने होइन, थापामा अलिकति पनि नैतिकता छ भने उनी आफैले राजीनामा दिनु पर्ने हो।’ उनले भने, ‘तर मलाई थाहा छ, थापाजस्ता अकर्मण्य, लोभी, पापी राजनीतिक व्यक्तिले राजीनामा दिँदैनन्।’

विहीबार मन्त्री परिषद् बैठकमा सचिव सरुवाको विषयलाई लिएर विवादपछि शुक्रबार राप्रपा अध्यक्ष थापाले पार्टीका मन्त्री गिरिलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *