गठबन्धन तोडाउने रणनीतिमा रहेको कांग्रेस आन्तरिक छलफलमा

काठमाडौं, पुस १८ । वाम गठबन्धन तोडाउने रणनीतिमा रहेको नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार छलफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुलाई बोलाइएको छ । बैठकमा खासगरी वाम गठबन्धनको नेतृत्वमा बन्ने आगामी सरकार र सत्ता हस्तान्तरणबारे छलफल केन्द्रित हुने बताइएको छ ।

नेपाली कांग्रेस एमाले–माओवादीको वाम गठबन्धन तोडाएर माओवादी केन्द्रलाई आफूतिर तान्ने रणनीतिमा छ । यही रणनीतिअनुसार कांग्रेसका नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सार्वजनिक अभिव्यक्तिसमेत दिँदै आएका छन् ।

यही सेरोफेरोमा माओवादीले पनि आजै हेडक्वार्टर बैठक बोलाएको छ । माओवादी नेताहरुले एमालेसँग पार्टी एकता गर्ने र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने बताउँदै आएका छन् । ओली प्रधानमन्त्री बनेपछि प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्ने माओवादी नेताहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *