नारायणगढ-मुग्लिन सडकखण्ड : सवारी रोक्दै काम सुरु गरीने

चितवन , पुस १८ । नारायणगढ-मुग्लिन सडकखण्डको भित्तो काट्नकालागि आजदेखि बस्ती नभएको ठाउँमा सवारी रोक्दै काम सुरु गरीने भएको छ ।

रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब गरेर समस्या उत्पन्न भएपछि आजदेखि रातिमा बस्ती नभएको ठाउँमा सवारी रोक्न लागिएको हो ।

राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताउनुभयो ।

यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । तनहुँतर्फबाट आउने सवारीसाधनलाई तनहुँ प्रहरीसँग समन्वय गरी उपयुक्त ठाउँमा रोक्ने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि यसलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो । उक्त सडकखण्डको १६ किलो र २२ किलोमा पाँच सय मिटर र ३३ किलोमा तीन सय मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *