मध्यपश्चिमकाे पाेष्टमा एपीएफकाे गाेलकाे वर्षा, एउटै खेलमा २६ गाेल

पुस १८, काठमाडौं । सोमबार १६ औं महिला राष्ट्रिय फुटवल प्रतियोगितामा दर्लभ गोल भयो । फुटबलमा एउटै खेलमा चार, पाँच गोलको अन्तरलाई पनि फराकिलो नतिजाको रूपमा लिइने गरिन्छ । अझ फुटबलमा गोलको दोहोरो अंक छुनुलाई दुर्लभ मानिएपनि सोमबार एपीएफ क्लब र मध्यपश्चिम विचको खेलमा दोहोरो गोल अङक भयो । १६ औं महिला राष्ट्रिय लिगमा सोमबार यस्तै भयो, एपीएफ क्लबले मध्यपश्चिमलाई २६–० ले हराउँदै दोहोरो गोल अङक हासिल गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमै एपीएफले १४ गोल गरेको थियो । उसले दोस्रो हाफमा १२ गोल थप्यो । यस्तोमा एपीएफकी फरवार्ड सावित्रा भण्डारी एक्लैले चार ह्याट्रीक गरिन् । उनले १२ गोल गर्न भ्याइन् ।

तेस्रो मिनेटमा गोलको खाता खोलेकी सावित्राले १५ औं मिनेटमा दोस्रो गोल गरिन् भने १७ औं मिनेटमा ह्याट्रिक । उनले थप गोल २४, ३४, ४०, ४७, ५२, ५९, ६०, ७७ औं मिनेट र इन्ज्युरी समयको पहिलो मिनेटमा गरेकी थिइन् । उनको यो एउटै खेलमा सर्वाधिक गोल हो । गत वर्ष भएको प्रधानसेनापति कपमा पश्चिमाञ्चलविरुद्ध गरेको १० गोलको व्यक्तिगत कीर्तिमानमा उनले यसपालि सुधारेकी हुन् ।

समूह ‘बी’ मा रहेको एपीएफले आफ्नो पहिलो खेल जितेपछि सावित्राले भनिन्, ‘बराबरी नतिजा भयो भने समूहको शीर्षस्थानमा रहन गोल अन्तर पनि निर्णायक हुनसक्छ । त्यसैले धेरै गोल गर्नैपर्ने दबाब थियो तर टिमले २६ गोल गर्ने सोचेको थिएन । १२ देखि १४ गोलसम्म गर्न सकिन्छ कि भन्ने थियो ।’ अब एपीएफले बुधबार पश्चिमाञ्चल र शुक्रबार आर्मीविरुद्ध खेल्नेछ ।

अनिता केसीले पनि ५ गोल गरिन् । उनले ११, १६, ४४, ७२ र ८१ औं मिनेटमा बललाई पोस्टको दिशा दिएकी थिइन् । अन्जली योन्जनको नाममा पनि चार गोल रह्यो । उनले २९, ३९, ४९ र ८८ औं मिनेटमा बललाई गोललाइन पार गराएकी थिइन् । त्यस्तै, रेखा पौडेलले दुई तथा अनिता बस्नेतले पनि एक गोल गरेका थिए । रेखाले ६५ र ७८ औं मिनेट तथा अनिताले १८ औं मिनेटमा एपीएफको अन्तर बढाएका थिए ।

राष्ट्रिय लिगमा एपीएफले सबैभन्दा ठूलो अन्तरको जित हात पारेको खेलमा विभागीय टिमकी गोलकिपर एन्जिला तुम्बापोले पूरा फुर्सद पाएकी थिइन् । उनले सम्हालेको गोलपोस्टमा मध्यपश्चिमले एकपल्ट पनि आक्रमण गर्न सकेन ।

दिनको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चलमाथि १२–० को जित हात पार्‍यो । त्यसमा दीपा राईले ५ गोल गरिन् भने कप्तान कृष्णा खत्रीले ह्याट्रिक पूरा गरेकी थिइन् । पूजा राना, शर्मिला थापा र इन्दिरा राईले पनि एक–एक गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *