आयोगलाई वाम गठबन्धनको चेतावनी : ‘परिणाम ढिलो गर्दा विजयी दलको प्रतिक्रिया बिचार गरियोस्’


“
काठमाडौं, पुस १७ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले समानुपातिक तर्फको निर्वाचन परिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगलाई दबाव दिएका छन् । सोमबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलयात आयुक्तहरूलाई भेटेर प्रतिनिधिमण्डलले निर्वाचन परिणाम राष्ट्रियसभाको निर्वाचनसम्म नलम्ब्याउन खबरदारी व्यक्त गरे ।
आयोगसँगको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम रावलले निर्वाचन आयोगले जनमत रोक्नतिर लाग्न नहुने र निर्वाचन परिणाम अनन्तकालसम्म लम्व्याउन नहुने बताए ।
“निर्वाचन परिणाम सार्वजनिक गर्न कानुनमा कुनै वाधा छ भने, त्यो अड्चन फुकाएर पनि परिणाम सार्वजनिक गर्नुपर्छ,” उनले भने, “निर्वाचन परिणाम सार्वजनिक नगर्दा लोकतन्त्र नै खतरामा पर्छ ।”
उनले परिणाम सार्वजनिक गर्न संविधानमा कुनै बाधा अड्चन छ भने गाँठो फुकाउन संवैधानिक निकायको हैसियतले निर्वाचन आयोगले पहल लिनुपर्ने कुरा आफूहरूले राखेको जानकारी दिए ।
निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ हुँदा जनताको र विजयी राजनीतिक दलको प्रतिक्रिया के हुन्छ भनेर आयोगले सोच्नुपर्ने उनको धारणा थियो । निर्वाचनबाट प्राप्त जनादेशलाई रोक्ने र सरकार गठनको बाटो अवरुद्ध पार्ने परिकल्पना पनि कसैले गर्न नहुने उनको भनाइ थियो ।
उनले संविधान निर्माण गर्दाकै बखत निर्वाचन सम्पन्न भएको मितिले सातदिनभित्र परिणाम सार्वजनिक गर्नुपर्ने परिकल्पना गरिएको उनको तर्क थियो । जवाफमा प्रमुख निर्वाचन आयुक्तले यथाशीघ्र निर्वाचन परिणाम सार्वजनिक गर्न आयोग तत्पर रहेको बताएको उनको भनाइ थियो ।
त्यस्तै रावलले राष्ट्रियसभाको निर्वाचन अविलम्व घोषणा गर्न मागसमेत गरे । त्यसमा निर्वाचन आयोगको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनको भनाइ थियो ।
आयोगसँगको छलफलमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल, संविधानसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, एमाले नेता अग्नी खरेल, माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा, वर्षमान पुन, रामनारायण बिडारीलगायत नेता सहभागी थिए ।
“
