टोपी दिवस विशेष

“गायक गोपाल योञ्जन मलाई मनपर्ने गायकभित्र पर्छन् । उनको एउटा गीत छ, आजै जुनकुनै हालतमा गुनगुनाउने कोसिस गरेँ । आज जनवरी १ तारिखको दिन । अन्तर्रा्ष्ट्रिय टोपी दिवस । नेपालमा पनि यो दिवस केही वर्षदेखि मनाउन थालिएको छ । टोपी दिवसको दिन टोपीका विषयमा गीत गाउने गायकलाई नसम्झेर भयो त ! सम्झनै पर्याे । गायक गोपाल योञ्जनलाई सम्झेँ । अनि उनको गीत गुनगुनाउन थालेँ । ‘मेरो टोपी कैलाशको शिरजस्तो, हिमालको भीर जस्तो’‘..गाउँदै थिएँ बीचमा अड्किएँ । गीत त भुलेछु । गीत भुले पनि नेपाली टोपीको पहिचान झल्काउने गीत गाउने गायक र लेखक सबैलाई साधुवाद !
मैले टोपी लगाउन खुबै चासो दिएको छैन, तर लगाउन खुब मनपर्छ । तर, मलाई टोपी लगाउँदा सुवाउँदैन भनेर साथीभाइले खिल्ली गरेपछि लगाउन छोडेको हो ।
सानामा खुब लगाउँथें ढाका टोपी । ठूलो हुँदै आएपछि टोपी लगाउँदा साथीभाइले नसुवाउने सल्लाह दिन थालेपछि टोपी लगाउन छोडेँ । तर, आज टोपी दिवस परेको हुनाले लगाउने कोसिस गरेको छु ।
१ जनवरीलाई ‘नेपाली टोपी दिवस’ का रुपमा चलाउने चलन ज्यादै चलेको छ । आज धेरैको टाउकामा नेपाली टोपी सजिएका हुन्छन् । तिहारमा दिदीबहिनीले दिएका टोपीहरु आज एकदिन भए पनि लगाउने थुप्रै जमात देखिन्छ । आज टोपी दिवसका दिन विभिन्न कार्यक्रमहरु पनि भएका छन् । जहाँ गए पनि आज टोपी नछुटाउने र भोलिबाट टोपी कुन कुनामा पुग्ने हो थाहा नहुने पनि हाम्रो समाजमा थुप्रै छन् ।
हिउँदको दिन, यसै पनि कुनै न कुनै टोपी लगाउने बुबा र हजुरबाहरु धेरै छन् । बुबा र हजुरबाहरुले लगाउने टोपी युवापुस्तामा सर्नुपर्छ । युवापुस्ताले नेपाली पोशाकका रुपमा चिनिने ढाका टोपी या भादगाउँले टोपीलाई हामीले लगाएर सञ्चा नेपालीको परिचय दिन जरूरी छ । हामी नेपाली जनाउने प्रमुख आधार हो टोपी । यसलाई हामीले शिरमा लगाएमात्र हाम्रो विचार उच्च हुन्छ ।
मलाई पनि टोपी लगाउन त्यतिसाह्रो मन लाग्दैन । टोपी दिवसको दिनबाट टोपी लगाउने सुरसार कसेर बिहानैबाट घरका कुनाकुनीमा ढाका टोपी खोज्न थालेँ । म आफूले पैसा हालेर टोपी कहिल्यै किनेको छैन । तिहारमा दिदीबहिनीले दिएका टोपीहरु थुप्रो खात भएर बसेको रहेछ । तिहारमा एकदिनमात्र लगाउने दिदीबहिनीको कोसेली टोपी घरभरि खोज्दा १० वटा फेला प¥यो । तर, लगाउन मिल्ने राम्रा एउटाबाहेक अरु थिएन । कति टोपीहरुमा त मुसाले प्वालसमेत पारिदिएको रहेछ । १० वटा टोपीमध्ये यही वर्ष बहिनीले दिएकी टोपी राम्रो पाएँ । आज टोपी दिवसको दिन त्यही टोपी लगाएर हिँड्ने सुरसार छ । तर, मैले टोपी दिवसमा मात्र होइन टोपी सधैँभरि लगाउने वाचा गरेको छु । हेरौँ, साथीभाइले के सल्लाह दिन्छन !
कसैले किन मनाउने टोपी दिवस ? भनेर मलाई धेरैले प्रश्न गरेका छन् । उनीहरुलाई मैले भनेको छु नमनाउने किन ? बाबुबाजेले लगाउने टोपी नातिले किन नलगाउने ? लगाउँदैमा के हुन्छ ? टोपी लगाउँदा नसुवाउने भन्ने हुँदैन । अनि किन नलगाउने ? ‘१ जनवरीमा सबैले टोपी लगाऊँ’ भन्ने आह्वान्को विरोध किन गर्नुपर्याे ?
टाउको छोप्न संसारभर हजारौँ किसिमका शिरपोस छन् । स्थानीय सामग्री र सीपबाट निर्मित सबैका आआफ्ना किसिमका टोपी छन् । टोपीको काम टाउको ढाक्ने नै हो, आजकलका केही युवाहरुले कलर कपाल देखाउन टोपी छोडेका पनि छन् । मानव सभ्यता र संस्कृति विकासशील कुरा हो, त्यसैले त्यसमा अरुको सिको, प्रभाव वा नक्कल हुन पनि सक्छ । तर, बाबुबाजेहरुले लगाएको टोपी लगाउँदैमा के जान्छ ?
संसारका ८० प्रकारका टोपी देखाउने एउटा वेबसाइटले नेपाली ढाका टोपीलाई संलग्न गरेको थियो । विदेशमा ढाका टोपी लगाउनेबित्तिकै नेपाली हो भनेर सबै नागरिकहरुले चिन्छन् । नेपालीको परिचय ढाका टोपीमै छ, त्यसैले यसलाई किन टाउकोबाट हटाउने ? ढाका टोपी शिरमा राखौँ । आफ्नो विचारलाई पनि शिरमै राखौँ ! कसको के जान्छ ?
शब्दका हिसाबले टोपी बाहिर कतैबाट आएको लाग्दैन । तर, गम्भीर अध्ययनविना हाम्रो टोपीमा बाहिरी प्रभाव छैन भनेर दाबी गर्न आवश्यक छैन । हामी कोही पनि ‘यही माटामा उब्जिएका’ होइनौँ र बसाइँ सर्दै आउने क्रममा कतैबाट केही ल्याइयो, कतैबाट के । टोपी पनि त्यसरी नै कतैबाट आयो होला, तर हामीलाई त्यही टोपीले चिनाएको छ भने टोपी लगाउँदैमा कसको के बिग्रन्छ र ?
टोपी सजिलो छ, छरितो छ । टोपीलाई कुनै पनि ‘क्याप’ ले प्रतिस्थापन गर्न सकेन र यसको प्रयोग बढ्यो । ‘क्याप’ ढाका टोपी र भादगाउँले टोपीलाई माथ गर्न आयो होला, तर सकेन । धेरैको टाउकोमा ढाका टोपी नै देखिन्छ ।
कतिपय नेपाली नेताहरु टोपी लगाउँदैनन् । कतिले पहिला लगाउने गरेका थिएनन्, तर अहिले लगाउँछन् । कतिपय माओवादी नेताहरुले पनि टोपी छाड्न सकेका छैनन् । पूर्वराष्ट्रपति रामवरण यादवले जुनसुकै पोशाकमा पनि टोपी लगाएका थिए । अहिलेको हेभीवेट नेताहरु कोटसँगै शिरमा ढाकाको टोपी नै सजाउँछन् । ढाकाको टोपीमा नै राम्रा देखिन्छन् ।
कसैले पनि कसैका करले कुनै लुगा लगाइरहँदैन । भारतीयहरुले कुर्तालाई जसरी लोकप्रिय बनाउन सके, हामीले दौरासुरूवाललाई त्यति लोकप्रिय बनाउन सकेनौँ । तर, टोपीलाई लोकप्रिय बनाउन हामी पछि नपरौँ । लामा, छोटा, सादा, बुट्टे थरीथरीका टोपी बजारमा छन्, तर ढाका टोपी र भादगाउँले टोपी नै नेपालीको परिचय बनेको छ ।
टोपी पसिना पुछ्ने र भुटेको मकै–भटमास खानेदेखि नक्कल पार्ने र शान दिनेसम्मको प्रयोगमा आइरहेको छ । दिनभरि खेतमा काम गर्ने किसान पनि टोपीले नै निधारको पसिना पुछ्ने गर्छ । टाउकोमा टोपी सजाएर नै कोही भलाद्मी पाराले हिँड्छ । त्यसैले, टोपीलाई हेँला नगरी सबैले लगाउन जरूरी छ ।
चितवनका युवाहरु टोपीको मह¤व झल्काउन कस्सिएर लागेका छन् । ब्रदर्श नेपाल नामक संस्थाले नेपालीको पहिचान बोकेको टोपीलाई चिनाउनका लागि आज टोपी दिवसमा कार्यक्रम नै राखेको छ । ब्रदर्श नेपालका संयोजक विशाल कोइराला, सहसचिव नवीन अधिकारी टोपीको महत्व बुझाउन नारायणगढको पुल्चोकमा आज जनवरी १ मा टोपी कार्यक्रमको आयोजना गरेर नेपालीलाई टोपीको महत्वबारे बुझाउन होमिएका छन् ।
वर्तमान अवस्थामा पश्चिमी भेषभूषामा रमाउँदै गरेका युवायुवतीहरुलाई केही सन्देश छोड्नका लागि ब्रदर्श नेपालमा आबद्ध भएका युवाहरु जुटेका हुन् । नेपाली ढाका टोपी नेपालीको चिनारी हो । त्यसैले, यसलाई शिरमा लगाएर आफ्नो परिचय बलियो बनाउने हरेक नेपालीको दायित्व हो ।
हजुरबाले लगाउनुभएको ढाका टोपी हेरेर मात्र हामी नातिनातिनाहरु अब बस्ने बेला छैन । हामीले पनि टाउको ढाका टोपी शिरमा राखेर बाबुबाजेको सिकौँ गरौँ । नेपालीको पहिचान दिआैँ । टोपी दिवस मनाऔँ ।
“








