‘शक्ति केन्द्र धाएकी छैन, जिम्मेवारी दिए पछाडि हट्दिन’

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन जित्ने ६ जना महिलामध्ये एक हुन दुर्गा पौडेल । पुर्ननिर्माण प्राधिकरणको जागिर छाडेर प्यूठान जिल्लाबाट निर्वाचन लड्न गएका डा. गोविन्द पोखरेललाई झण्डै १६ हजार मतान्तरले पराजित गर्दै उनी संघीय संसदमा प्रतिनिधित्व गर्दैछिन् । बाम गठबन्धनसँग तालमेल गरेर राष्ट्रिय जनमोर्चाबाट उम्मेद्वार बनेकी पौडेलले आफ्ना पाँच वर्षे योजनाहरु सुनाउनुपूर्व उनी प्यूठानवासी मतदाता प्रति आभार प्रकट गरिन्  ।  भनिन् ‘म उहाँहरुप्रति ऋणी छु  ।

उनले संसदमा महिलाको न्युन प्रतिनिधित्व रहेको प्रति पनि असन्तुष्टि जनाईन् । ‘औँलामा गन्न सकिने महिलाहरु प्रत्यक्षमा निर्वाचित भएका छन् । अब, समानुपातिकबाट महिलाहरुको पद पूर्ति गर्ने भनिएको छ । तर, प्रत्यक्षमा महिलाको उपस्थिति कम देखिएको अवस्थामा धेरै शंका र उपशंका उब्जिएको छ । यसकारण कतिपय क्षेत्रमा महिला–महिलाबीच प्रतिस्पर्धा गरेर महिलाको प्रतिनिधित्वलाई बढाउन प्रेरित गर्नुपथ्र्याे’ उनले भनिन्– ‘अहिले जुन ३३ प्रतिशत कुरा सबै समानुपातिक प्रक्रियाबाट सल्टाउने भनिएको छ, यो हात्तीको देखाउने दाँत जस्तै नहोला भन्न सकिन्न ।’

यति भनिसकेपछि दुर्गाले आफ्ना प्रतिवद्धता ओठे प्रतिवद्धता मात्र नभएर व्यवहारमा लागू गरेर देखाउने बचनवद्धता भएको दोहोर्याईन् । ग्रामीण पर्यटनका लागि होमस्टे सञ्चालन गर्ने, स्वर्गद्वारी र गौमुखिलाई धार्मिक पर्यटनको विकास गर्ने योजना सुनउँदै उनले भनिन्– ‘यी काम पूरा गर्न नै साझा उम्मेद्वारीमै साझा प्रतिबद्धतापत्र कोरेको हौँ । अब,पाँच वर्षे कार्यकालमा जो कोही त्यहाँ गएर औँला ठड्याउने हिम्मत नराख्ने विकासे कामहरु गरेर देखाइनेछ ।’

के के छन् त प्यूठानलाई सम्बृद्ध बनाउने उनका योजनाहरु ?

 उनकै शव्दमा : 

१.स्वास्थ्य

क) सबैभन्दा पहिले आगामी एक वर्षभित्र प्युठान जिल्ला अस्पताललाई विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्नेछु । ख) प्युठानका दुइ नगरपालिकामा ५० शैय्या र सबै गाउँपालिकाहरुमा २५ शैय्याको अस्पताल निर्माण गरिनेछ । सबै वडामा सेवा र सुविधा सम्पन्न स्वास्थ्य चौँकी सञ्चालन गरिनेछ । ग) प्युठानका सबै नागरिकको स्वास्थ्य बीमा कार्यान्वनमा ल्याउनेछु ।

२.विद्युत

क) प्युठानमा आगामी ३ वर्षभित्रमा विद्युत नपुगेका ठाउँहरुमा विद्युीतीकरण गरिनेछ । त्यससँगै लोडसेडिङमुक्त जिल्लाको रुपमा परिचित गराइनेछ । ख) ३ वर्षभित्रै माडीखोला, झिमरुक तथा लुङखोला लगायत ठूला तथा साना आयोजनाहरु निर्माण सम्पन्न गरिनेछ ।

ग) त्यस्तै, नौमुरे जलविद्युत आयोजना पनि त्यहीँ कालखण्डभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छु । उक्त जलविद्युत आयोजना निर्माण सम्पन्न गर्नका लागि स्थानीय जनताको लगानी सुनिश्चित गर्ने छु । घ) दम्तीमा विद्युत सब स्टेसनको निर्माणका लागि विज्ञहरुको परामर्श गरेर निर्माण कार्य सम्पन्न गर्ने योजना बुनेको छु ।

३.कृषि

क) देशमा कृषिमा फड्को नमारेसम्म अन्य क्षेत्रमा प्रगतिको आशा गर्नु किमार्थ हो । यसकारण ९० प्रतिशत बढी कृषिमा आश्रित प्युठानीहरुको कृषि क्षेत्रमा थप व्यावसायीकरण र आधुनिकीकरण गरिनेछ ।ख) ‘एक गाउँ एक उत्पादन’ भन्ने मूल नाराका साथमा प्रत्येक गाउँको भौगोलिक बनोटको अनुसन्धान गरेर लसुन, अलैँची, कफी, तरकारी, मौरी, फलफूल, चिउरी, अल्लो, सुन्तला, जुनार, कागती, कमला, केरा, कटहर, दलहन, तेलहन, अन्न तथा तरकारीको बीउ विजन वितरण, दुग्ध उत्पादनको दायरा बढाउनेछु । ग) पशुपालनलाई थप व्यावसायीक बनाइ गाइ भैसी, बाख्रा, भेडाका फार्महरुलाई विशेष प्राथमिकतामा राख्नेछु । घ) त्यस्तै, यसमध्ये मुख्य काम गौमुखी र नौ बहिनीमा ट्राउट माछाको फार्मको सुरुवाती गरिनेछ । यससँगै प्यूठान जिल्लालाई चिस्यान केन्द्रको घोषणा समेत गराइनेछ ।

४.यातायात

क) आगामी दुइ वर्षभित्र बाग्दुला–स्याउलीवाङ–ढोरपाटन सडक अन्तर्गतको  स्याउलीवाङसम्मको सडक पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ । यसका लागि आवश्यक अध्ययन अनुसन्धान पनि भइरहेको छ । ख) यता, यहीँ समय सीमाभित्रमा भालुवाङ–बाग्दुला–भीमगिठे जोड्ने दुइ लेनको कालोपत्रे सडक निर्माण कार्य सम्पन्न गरिनेछ । त्यस्तै, चेरनेटादेखि दम्तीसम्म ४ लेन पक्की सडक निर्माण गरिनेछ । ग) प्यूठानबाट विभिन्न जिल्लासम्म सडक जोडिनेछ । प्यूठानबाट रोल्पा, बागलुङ, गुल्मी, अर्खाखाँची र दाङसम्मका सडक खण्डहरु पूर्ण रुपमा विस्तार गरिनेछ । घ) हाल  विवादित रहेको स्वर्गद्वारी विमानस्थलको पहिचान गर्दै निर्माण कार्य अविलम्ब अघि बढाइनेछ । ङ) विगतदेखि नै स्वर्गद्वारीसम्म पुग्ने भिंगृ–स्वर्गद्वारी सडक कालोपत्रेका गुरु योजनाहरु अघि बढाइएपनि त्यो सफल हुन सकेको छैन । यसकारण उक्त सडक खण्डको कालोपत्रे तत्काल सुरु गरिनेछ । र, सबै गाउँपालिकाका कच्ची सडक खण्ड कालोपत्रे गरिनेछ भने वडा कार्यालयसम्म पुग्ने आन्तरिक सडक खण्डहरुको दीर्घकालीन योजनासँगै सडक स्तरोन्नत्तिका कामको थालनी गरिनेछ । च) झिमरुक चक्रपथ र माडी चक्रपथ निर्माण कार्यको स्तरोन्नत्ति गरिनेछ ।

५.शिक्षा

क) मैले मेरो कार्यकालमा शिक्षातर्फ प्यूठानको स्वर्गद्वारी क्याम्पसलाई सुविधा सम्पन्न आँगिक क्याम्पस बनाउनेछु । त्यस्तै, अन्य क्याम्पसहरुलाई सुविधा सम्पन्न बनाउनेछु । ख) जिल्लाका सबै गाउँ तथा नगरपालिकाहरुमा १÷१ वटा प्राविधिक शिक्षालय स्थापना गरिनेछ । सकेसम्म कम्प्युटराइज कक्षा सञ्चालन गर्न जोड दिइनेछ । ग) अर्काे मेरो मूल लक्ष्य भनेको प्यूठानमा स्नातक तह सम्मको कृषि प्राविधिक शिक्षालयको स्थापना गर्नेछु ।

६.पर्यटन

क) जतिबेला म ओखरकोट ग्रामीण विकास पर्यटन सेवा समितिको अध्यक्ष थिए त्यतिबेला देखी नै म प्यूठानलाई पर्यटकीय स्थल बनाउन लागिपरे । अर्कातिर प्यूठान आफैँमा पनि पर्यटकीय हिसाबले धनी जिल्ला हो । अब, स्वर्गद्वारीको थप व्यवस्थापकीय पाटोलाई सुधार गर्दै बुहत्तर विकास र गुरुयोजना कार्यान्वनयन गरिनेछ । ख) स्वर्गद्वारीसँगै गौमुखी, मल्लरानी र भित्री कोटलाई पर्यटन क्षेत्र बनाइनेछ ।ग) ‘वन जगंल नेपालको धन’ भन्ने मूल हेतुले जिल्लामा रहेको वन तथा सामुदायिक वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन गरिनेछ । वनङजँगल हराभरा बनाएर प्रकृतिको जगेर्ना गरिने मात्र छैन वातावरण सन्तुलित हुनेछ ।

७.खेलकुद

क) हाल जिर्ण झै रहेका प्यूठानका सबै स्थानीय तहहरुको खेलकुद मैदानको निर्माण कार्य सँगै फराकिलो बनाइनेछ ।ख) पहिलो प्राथमिकता युवा विद्यार्थीहरुको खेलकुदलाई दिइनेछ ।ग) स्थानीय तह तथा विद्यालयहरुमा आवश्यक खेलकुदका सामाग्रीहरु सबै पुर्याइनेछ । र, खेल क्षेत्रमा पनि विद्यार्थीलाई प्रोत्साहन गरेर भावी दिनमा राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा खेलाडी उत्पादन गरिनेछ ।

८.खानेपानी तथा सिँचाइ

क) अब, तत्काल प्यूठानका सबै वडा तथा नगरपालिकामा व्यवस्थित रुपमा खानेपानी पु्रयाइनेछ । यो मूल प्राथमिकतामा राखिनेछ । हाल प्राय : प्यूठानका अधिकांश ठाउँमा खानेपानी पुगेको छ अब यसलाई थप सुविधा सम्पन्न तरिकाले खानेपानी पुर्याइनेछ । ख) त्यस्तै, स्वर्गद्वारी नगरपालिकाको अमर क्याम्पसस्थित रहेको भू–भागमा बृहत सिँचाइ आयोजना सञ्चालन गरिनेछ भने, बाङ्गेसाल लिफ्ट सिँचाइ र प्यूठानका सुक्खाग्रस्त क्षेत्रमा ठूला तथा साना सिँचाइ आयोजना सम्पन्न गरिनेछ ।

९.नदी नियन्त्रण तथा तटबन्ध

क) प्यूठानको अर्खादेखि ऐरावतीसम्म झिमरुक नदीका कारण वर्षेनी स्थानीय बासीहरु तित्तर वित्तर हुनुपरेको छ । अब त्यसका लागि ‘मास्टरप्लान’नै अघि सारेर दीर्घकालीन नदी नियन्त्रणको पहल कदमी बढाइनेछ । ख) लुङ्खोला, गहनाखोला, छापेखोला, गर्तङ्खोला, आहलखोला, अरङ्खोला, जुम्रीखोलाको नदी नियन्त्रणका लागि तत्काल विज्ञहरुको टोली गठन गरेर अनुसन्धान अघि बढाइनेछ ।

१०.पुल

क) यता, ठेक्का पट्टा प्रक्रिया पूरा भइ निर्माणधिन अवस्थामा रहेका झिलीवाल–लमाताल, ऐरावती, माझीदमार, बरौँला, अर्लावाङ, त्रिवेणी, झिवाङ, झिवाङ–घुइवाङ, दाखाक्वाडी–खैरा, ढाँड–तुसारा, सिरिङखोला, सन्धेखोला–रजवारा, सिरि खोला–रजवारा, लाखाचौँर,सारी–खुँग्री, जलुके–सोत्रे, सुकाखोला, कैरन–सराङवेशीका सबै पूलहरुको जडान गरिनेछ । ख) त्यस्तै, डी.पी.आर तयार भइसकेका पुलहरु नौघाट, जुजाह–दुर्वाङ्, बाटुले, ठूलाबेसी, फड्के, खवाङ्वेशी, जुम्रीफेदीका ग्रीन रोड, स्याउलीघारी सालघारी, लामाचौर–धाइरेचौर, गोठीवाङ चाल्नेटार, खरङ्खोला–आँपचौर,बर्जिवाङ खोला, झाँक्री स्थान चँजाठाटीका सम्पूर्ण पुलहरुको निर्माण कार्य सम्पन्न गरिनेछ ।

विपक्षीहरुले आठ डिजिट खर्च गर्दा समेत चुनावमा पराजय बेहोर्दा उनले उनकै शब्दमा ‘जम्मा २० लाख रुपैंया’ चुनाव खर्च गरेकी हुन् र जितिन पनि ।  उनको अनुभवले भन्छ “”चुनाव जित्न पैसा होइन एजेण्डा र उम्मेद्धार चाहिँ महत्वपूर्ण हो ।””

प्युठानबाट चुनाव जितेर आएकी यी चेलीले सिंहदरवारस्थित कुनै मन्त्रालय हाक्ने जिम्मेवारी पाउलिन वा नपाउलिन ? हाम्रो जिज्ञासा थियो । सहज ढंगमा प्रस्तुत भईन् उनी । ‘शक्तिकेन्द्र धाएकी छैन,कसैले जिम्मेवारी दिए पछाडि हट्दिन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *