सडक दुर्घटनामा ४० जनाको मृत्यु


“
पुस १७, नैरोबी । केन्या र मेक्सिकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरू १६ जना घाइते भएका छन् ।
मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
“तीस जनाको मृत्यु भएको छ,” रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोेमेले भन्नुभयो । उहाँले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको जानकारी दिनुभयो ।
“घटनास्थलबाट सबै शव निकालिसकिएको छ भने घाइतेलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ,” उहाँले थप्नुभयो ।
त्यसै गरी मेक्सिकोमा तीन ओटा सवारी साधन एकै ठाउँमा जुध्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । भ्यान र मोटरसाइकल एक आपसमा ठोक्कीएका हुन् ।
दक्षिणी मेक्सिकोको गुइरो राज्यमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जना अमेरिकाबाट घुम्न आएका पनि परेको अधिकारीले शनिवार जनाएका छन् ।
मृत्युहुने अन्य पाँच जनामा भेनका चालक र उनका सहयोगी रहेका छन् । परिवारजनसँग घुम्न आएका एक जना १८ वर्ष र अर्का एक जना आठ वर्षका गरी दुई जना केटा पनि दुर्घटनामा परी मारिएका छन् ।
घुम्न आएका उनीहरूको गन्तव्यको ठाउँ आउन १५ मिनेट अगाडि दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।
“
