कोरियामाथिको प्रतिबन्धले नयाँ युद्धको खतरा : बिजुक्छे

भक्तपुर, पुस १६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ कोरियामाथिको प्रतिबन्धले नयाँ युद्धको खतरा बढेको बताएका छन् । नेपाल प्राध्यापक समाजले यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उनले संयुक्त राष्ट्र संघले प्रजग कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकामा विरोध गर्दै तेल ढुवानीसमेत प्रतिबन्ध लगाउनाले युद्धको खतरा बढेको बताए ।

रुसी कम्युनिष्ट नेता स्टालिन र चिनियाँ कम्युनिष्ट क्रान्तिका नेता माओत्सेतुङको जन्म दिवस र क्युबाली स्वतन्त्रता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा बिजुक्छेले इजरायलको राजधानी जेरुसेलम बनाउन विशेषाधिकार प्रयोग गरेका कारण भीडन्त अझ चर्किने बताए ।

 बिजुक्छेले एमाले र माओवादीहरूलाई नाममात्रका कम्युनिस्ट भएको आरोप लगाए । उनले एमाले र माओवादीले पटकपटक सरकारको नेतृत्व गरे पनि नेपाली मजदुरको अवस्था जहाँको तहीं भएको बताए । उनीहरूले पुँजीपति र धनीहरूको मात्रै हित गरेको उनको आरोप थियो। ‘हाम्रा कम्युनिस्ट प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास र सिंहदरबार जाँदा उनीहरू सधैं पुँजीपति, धनी र ठगहरूले चारैतिरबाट घेरिएका हुन्छन्’, बिजुक्छेले भने।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं नवनिर्वाचित सांसद प्रेम सुवालले नेकपा (एमाले) नेपाली काँग्रेसकै बाटामा हिँडेकाले क्रान्तिकारी हुन नसक्ने बताए ।

नेपाल क्रान्तिकारी सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष एवं प्रदेशसभाका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईंले माओको क्रान्तिको जगमा टेकेको चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा व्यक्त गरे । कार्यक्रममा समाजका अध्यक्ष सरोजराज गोसाईं र उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा सदस्य चक्रबहादुर चाकतु र सुजन माकले समाजवादी क्रान्तिको महत्वमाथि प्रकाश पारेका थिए ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *