पुजाकलीले जितिन् ‘सुन्दरी’ को उपाधि


“
चितवन, पुस १५ । चितवनको सौराहामा भएको १४ औं हात्ती महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पूजाकलीले जितेको छ । पुस ११ गते सौराहाको बाघमारा चौरमा भएको महोत्सव ‘हात्ती सुन्दरी’ चयन गर्दै आज समापन भएको छ ।
१०० पूर्णाङ्कमा ७८.७ अंक ल्याएर पूजाकलीले उपाधि जितेको हो । प्रतियोगितामा एलिसाकली, पुष्पाकली, सेल्फीकली र बिजुलीकली सहभागी थिए । पूजाकली होटल पार्क साईडको हात्ती हो । सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने सुन्दरी प्रतियोगितामा पूजाकलीले उपाधि जितेको महोसत्वका संयोजक दीपक भट्टराईले जानकारी दिए ।
यही वर्षबाट सुरू गरिएको हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि पुनमकलीले जितेको छ । अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै पुनमकली पेन्टिङमा आर्कषक देखिएको हो । माउतेहरुले हात्तीको शरीरमा कलात्मक चित्र बनाएर प्रतिस्पर्धामा हात्तीहरुलाई सहभागी गराएका थिए ।
त्यसैगरी हात्तीको फास्टवाक प्रतियोगितामा टुरीज्म बैंकको लक्की कलि प्रथम भएको छ । यस्तै हिमालयन सोसल जोर्नीको एकताकली दोस्रो र कोकाकोला कम्पनीको अनारकली तेस्रो भए ।
प्रतियोगितामा २० वटा हात्तीको सहभागिता थियो । आज शनिबार नै भएको हात्तीका छावाहरुको फुटवल प्रतियोगिताको फाइनलमा सिजी समुहका हात्तीका छावाहरु बिजयी भए ।
सिजी समुहले कुमारी बैंकलाई ३(० ले पराजित गर्यो । चितवनमा स्वदेशी तथा विदेशी पर्यटक प्रर्बद्धन गर्ने उद्देश्यले हरेक वर्ष क्षेत्रीय होटल संघ चितवनले हात्ती महोत्सव गर्दै आएको छ ।
महोत्सवमा हुने विभिन्न हात्ती सम्वन्धि गतिविधी र क्रियाकलापलाई परिमार्जन गर्दै पर्यटकलाई आकषिर्त गर्दै लगिने क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।
“
