फागुन यता नयाँ सरकार बन्दैन : काँग्रेस, १५ दिन भित्र बन्छ : विपक्षी


“
काठमाडौं, पुस १५ । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे ।
मन्त्री विश्वकर्माले वर्तमान सरकारले आयु लम्ब्याउन खोज्यो भनेर बाहिर हल्ला चलेकोप्रति टिप्पणी गर्दै यो गलत हल्ला भएको बताए ।
“सरकारमा जान चाहनेहरुले भन्नुपर्यो कि प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएपछि कसरी सरकार बनाउनुहुन्छ । प्रतिनिधिसभाको नतिजा नै आएको छैन ।” उनले प्रश्न गरे । “वालकोटमा वा लाजिम्पाटमा बहुमत पुगेर हुँदैन । संसदमा बहुमत पुग्नुपर्छ । अहिले संसदको बैठक बस्न सक्छ ?” उनले प्रश्न थपे ।
साक्षात्कारमा नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने स्पष्ट पारे । उनले अबको १५ दिनभित्रै नयाँ सरकार बन्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले पनि अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे ।
अब नेपालमा एमाले र माओवादी पार्टी भन्ने नै नरहेको उनको भनाइ छ । कार्कीले यतिवेला पदीय बाँडफाँडभन्दा पनि कसरी समाजवादको लक्ष्यलाई हाँसिल गर्न सकिन्छ भन्ने नै आफूहरुको मुख्य ध्यान रहेको बताए ।
साक्षात्कारमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्ने माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारे । उनले आफूहरुको प्राथमिकता अहिले सरकारभन्दा पनि संविधान संशोधन र नेता तथा कार्यकर्ताहरुमाथि लगाईएका झुठा मुद्दा फिर्ता नै रहेको बताए ।
नेता कर्णले भने,‘हामी त अहिले पनि आन्दोलनमै छौं, यो निर्वाचनलाई पनि आन्दोलनकै रुपमा उपयोग गरेको हो, अब हाम्रो आन्दोलन संसदबाट सुरु हुन्छ, संसद बाहिरको आन्दोलन हामीले सोचेको छैन।’ उनले संविधान संशोधन र झुठा मुद्दा फिर्ताको पलह सुरु भए आफूहरु सरकारमा जान तयार रहेको विश्वास दिलाए । उनले भने,‘मैले माथि भनेकोजस्तो यी दुई मुद्दामा वचनवद्धता दिए, हामी अलमलमा पर्दैनौं, सरकारमा जान्छौं।’
“
