बागलुङ महोत्सव शुरु, एनआरएन अध्यक्ष भवन भट्टले गरे उद्घाटन


“
बागलुङ, पुस १५ । पाँचौँ बागलुङ महोत्सव आजदेखि सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा शुरु भएको छ । महोत्सवको गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गरेका छन् ।
महोत्सव उद्घाटन गर्दै भट्टले विदेशमा रहेका नेपालीले पठाउने विप्रेषणलाई लगानीमा परिणत गर्ने योजना रहेको सुनाए । उनले पर्यटन, जलविद्युत्, कृषिलगायत भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न सरकार र निजी क्षेत्रसँग संघले सहकार्य गर्ने पनि बताए । सो अवसरमा नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले जिल्ला र समग्र मुलुकको समृद्धिका लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा पर्यटन, जलविद्युत्, कृषि र स्थानीय उत्पादनको दृष्टिकोणले प्रशस्त सम्भावना रहेकाले परियोजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे । संघका अध्यक्ष एवम् मेला संयोजक जयराम भारीले महोत्सवलाई ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक मेलाका रुपमा लिइएको बताए ।
व्यापार, पर्यटन, खेलकुद, कला र संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यसहित राखिएको एक सय ८२ व्यावसायिक कक्ष रहेको महोत्सव यही पुस २३ गतेसम्म चल्नेछ । महोत्सवमा कृषि तथा लघु उद्यम र स्थानीय उत्पादन निःशुल्क रुपमा तथा राष्ट्रियस्तरको लोकदोहोरी, भलिबललगायत प्रतियोगिता पनि राखिएको छ ।
“
