दलहरुले बुझाए प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम

काठमाडौँ, १४ पुस । मुलुकका १३ राजनीतिक दलले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्ये सम्बन्धित दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा निर्वाचित हुनुपर्ने उम्मेदवारको नाम आज निर्वाचन आयोगमा बुझाएका छन् ।

प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फबाट १३ राजनीतिक दलका उम्मेदवारबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व हुनेछ । राजनीतिक दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् ।

समानुपातिक समावेशी सिद्धान्तका आधारमा समानुपातिकतर्फको प्रदेशसभा सदस्यको छनोट गरेर पठाउन आयोगले एकसाता अघि आजसम्मको समयसीमा प्रदान गरेको थियो । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा (एमाले) ७५, नेपाली काँग्रेस ७२, नेकपा (माओवादी केन्द्र) ३५, सङ्घीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टीे नेपाल १२, राप्रपा र विवेकशील साझा पार्टी तीन/तीन, राष्ट्रिय जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक÷एक सिट प्राप्त गरेका छन् ।

समानुपातिक तर्फ प्रदेश नं १ मा ३७, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ४४, प्रदेश नं ४ मा २४, प्रदेश नं ५ मा ३५, प्रदेश नं ६ मा १६ र प्रदेश नं ७ मा २१ गरी कुल २२० कायम गरिएको छ ।

प्रदेशसभा संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधानअनुसार समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको निर्वाचित हुने सङ्ख्या निकै बढी हुनेछ । प्रत्यक्षतर्फ महिलाको ३३ प्रतिशतको बाँकी रहन गएको उपस्थिति पनि समानुपातिक तर्फबाटै हुनेछ ।

निर्वाचित हुने उम्मेदवारको नामावली बुझाउन निर्वाचन आयोग पुग्नुभएका राजपाका नेता महेन्द्र यादवले आफ्नो पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको १२ सिटमध्ये आठ जना महिलासहित १२ को नाम सिफारिस गरेको जानकारी दिनुभयो ।

आयोगले दलहरूले दिएको नाममाथि शनिवार छानबिन गर्ने र समावेशी सिद्धान्तअनुसार सिफारिस नपठाउने राजनीतिक दललाई पुनः नाम सञ्चाउन आइतबार तीन दिनको समय प्रदान गर्ने छ । (रासस)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *