अध्यादेश पास गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

“
काठमाडौं, पुस १३ । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश पारित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता यज्ञमणि न्यौपनले आज रिट निवेदन दर्ता गरेका हुन् ।
रिटमा राष्ट्रपतिले अध्यादेश पारित गर्नुपर्ने, अध्यादेश पारित नगरी प्रधानमन्त्रीको नियुक्ति प्रकृया अघि बढाउन नहुने, निर्वाचन आयोगले समानुपातिकको अन्तिम नतिजा अध्यादेश पारित नभएसम्म सार्वजनिक गर्न नुहने लगायतका विषय समावेश गरिएका छन् ।
सर्वोच्च अदालतले सो रिटको भोली नै पेशी तोकेको छ । न्यौपानेले दायर गरेको रिटमा राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसलाई विपक्षी बनाइएको छ ।
राष्ट्रपति र प्रचण्डबीच अध्यादेशबारे छलफल
यता, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सम्बन्धी अध्यादेशमा चाँडो सहमतिमा पुग्न आग्रह गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रति भण्डारीले यो विवाद चाँडै टुंगियोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै संवादमार्फत यसवारे चाडै निश्कर्षमा पुग्न सुझाव दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपतिसँग भएको सवा घण्टा लामो छलफलमा प्रचण्डले अध्यादेशको विवाद लम्बिदै जाँदा नकारात्मक सन्देश जान सक्ने भन्दै छिटै सल्टयाउन आग्रह गरेका थिए ।
“








