धरानको पुरानो गोधुली कप पुस–१५ गतेदेखि हुने


“
भरतराज शर्मा(गोपाल)
पुस १३, धरान । गोधुली क्लब धरान १७ को आयोजनामा १८ औ संस्करणका रूपमा पुस १५ गतेदेखि २९ गते सम्म सुनसरीको धरानमा अन्तर वडा स्तरीय रेडबुल गोधुली फुटबल रनिङ कप सुरु हुने भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका भित्र पर्ने वडाहरुले मात्र सहभागी जनाउने वडा स्तरिय प्रतियोगितामा धरानका २० वटा टिमले सहभागिता जनाउने बिहीबार धरानको ओटल रत्ना ईनमा गरिएको पत्रकार सम्मेलनमा क्लबका सचिव युवराज अधिकारीले जानकारी दिनुभयो ।
सम्मेलनमा अधिकारीले यस पटकको प्रतियोगितामा पुरस्कार राशिमा वृद्धि गरिएको जनाकारी समेत दिनुभयो । विजेता टिमले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछ ।
१७ औँ संस्करणमा नगद पुरस्कारमा विजेताले ७५ हजार तथा उपविजेताले ५० हजार रुपैयाँ पाएका थिए ।
यसै गरी प्रतियोगिता व्यक्तिगत उत्कृष्टता तर्फ खेलाडीले नगद १० हजार, हाइ स्कोररले नगद ८ हजार, वेस्ट गोलकिपरले नगद ५ हजार, म्यान अफ द म्याचले नगद ५ हजार र उदयमान खेलाडीले नगद ५ हजार, ट्रफि र प्रामाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष देशकुमार राईले जानकारी दिनुभएको छ ।
आउदो पुस १५ गते एन्फा टेक्नीकल सेन्टर धरान १७ को खेलमैदानमा दिउसो ३ बजे हुने उदघाटन खेलमा १७ गोधुली कप विजेता वडा नम्बर १३ तथा वडा नं ६ का बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
“
