फेरी एक हुँदै विप्लव र वैद्य माओवादी


“
काठमाडौं, ११ पुस । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुबै पार्टीका शीर्ष नेताहरुको हालै सम्पन्न बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकले समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि विशेष परिश्रम गर्न जरुरी रहेको निश्कर्ष समेत निकालेको छ ।
राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरिएको वैद्य र विप्लवले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा एमाले–माओवादी केन्द्रबीचको गठबन्धन र एकताको आलोचना गरिएको छ ।
वक्तव्यमा भारतको कडा आलोचना गर्दै सन् १९५०को असमान संन्धि हुँदै शेरबहादुर देउवा नेतृत्वको सरकारसँगको ४६ बुदें सहमतिसम्म पुग्दा कोशी, गण्डकी, महाकाली, कर्णाली, अरुण जस्ता ठूला नदीहरुमा हस्तक्षेप भएको आरोप लगाइएको छ ।
यस्तै भारतबाट सीमा अतिक्रमण लगायत आर्थिक, राजनीतिक तथा साँस्कृतिक हस्तक्षेप पनि भइरहेको दुई पार्टीको ठहर छ ।
तत्कालिन एकीकृत माओवादीबाट फुटेर बनेको बैद्य नेतृत्वको माओवादीबाट समेत तीन वर्ष अगाडी विप्लव अलग भएका थिए । हालै सम्पन्न स्थानीय निर्वाचन तथा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले भाग लिएको थियो भने विप्लव नेतृत्वको नेकपाले सक्रिय बहिष्कार गरेको थियो ।
“
