मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना, १७ जना घाइते

काठमाडौं, पुस ११ । राजधानीको मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मंगलबार बिहान बा२ख ८७३३ नम्बरको बस पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर पल्टिएको हो । विद्युतको पोलसमेत ढलेका कारण बस उठाउन समस्या भएको प्रहरीले जनाएको छ ।

विद्युत प्राधिकरणका कर्मचारी आएर विद्युत ट्रान्सफर्मरसहितको पोल पन्छाएपछिमात्र बस उठाउन सकिने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार तीव्र गतिमा आएको सिटी यातायातको बस अनियन्त्रित भई पोलमा ठोक्किएको हो ।

दुर्घटनामा घाइते १७ मध्ये चार जनाको अवस्था गम्भीर छ । वीर अस्पतालमा एक गम्भीर र ८ सामान्य घाइतेलाई उपचारका लागि पठाइएको छ भने नर्भिक अस्पतालमा तीन गम्भीर र पाँच सामान्य घाइतेलाई पठाइएको छ ।

यस बाहेक विगत २४ घण्टामा उपत्यकामा २० वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ६ जना गम्भीर र २० जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विगत २० घण्टामा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६४ चालक कारवाहीमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *