गलाभरी माला लगाएर प्रचण्डले भने– ‘एकताको रेल चल्यो, विरोध गर्ने छुट्छन्’


“
पुस ८, भैरहवा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक–दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने बताएका छन् । उनले शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या नरहेको पनि जिकिर गरे ।
‘कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन्। तर, विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ’ भैरहवामा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘को नेताले के भने, त्यसको पछि नलाग्नुस्। एमाले-माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान्। तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं। एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस्। बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस्।’
अध्यक्ष दाहालले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताए । दाहालले भने, ‘सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो।’ पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उनले बताए।
कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने पनि प्रचण्डले बताए।
यस्तै उनले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। ‘समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन, तपाईहरु त्यसको भ्रममा नपर्नुहोला। निर्वाचन आयोगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं।’
सो अवसरमा प्रचण्ड र कपिलबस्तुबाट चुनाव जितेका बलदेवलाई सम्मान गरिएको थियो ।
“
