कर्णाली प्रदेशको राजधानी ‘कर्णाली’ नभए आन्दोलन


“
पुस ८, जुम्ला । जुम्लाका सबै दलले ६ नं कर्णाली प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन् ।
नेपाल पत्रकार महासंघ र नागरिक समाज जुम्लाको संयुक्त आयोजनामा आयोजित ‘६ नं कर्णाली प्रदेश र राजधानी’ विषयक बृहत् छलफल कार्यक्रममा नेपालको संविधानले प्रदेश राजधानी तोक्ने आधार पहिचान र सामथ्र्य व्यवस्था गरेको भन्दै राजधानी कर्णाली नै हुने निष्कर्ष निकालेका हुन् । कार्यक्रममा पूर्वसभासद् देवीलाल थापाले पहिचान र सामथ्र्यलाई आधार मानेर १०० पूर्णाङ्कमा दुवै जिल्लाको मापन गर्दा जुम्लाले ७५ र सुर्खेतले २५ अंक ल्याउने दाबी गरे ।
“सरकारले लादेर भए पनि सुर्खेतलाई राजधानी बनाउने हिसाबले अस्थायी राजधानी प्रस्ताव गरेको छ, यसमा कर्णाली संवेदनशील भएर जाग्नुपर्छ”– उनले भने । नेकपा (एमाले) जुम्लाका प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरीले यो प्रदेशका राजधानी कर्णाली मनासिव हुँदाहुँदै सुर्खेतलाई अस्थायी राजधानी बनाइए कर्णालीवासीका लागि अन्याय हुने धारणा राखे ।
नेपाली काँग्रेसका नेता देवेन्द्र शाहीले कुनै पनि हालतमा राजधानी कर्णालीमा हुने ठोकुवा गरे । उनले अब राजधानीका लागि एक भएर लाग्नुको विकल्प नरहेको बताए ।
वक्ताहरुले सामथ्र्य र पहिचानको अधिकतम मापदण्डभित्र पर्ने कर्णालीमा राजधानी तोक्न राज्यले कञ्जुस्याइँ गरे आन्दोलन गरिने चेतावनी दिएका छन् ।
“
