नवीकरणीय ऊर्जाको सम्भावना ‘व्यापक’

पुस ८, काभ्रेपलाञ्चोक । नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रथम साधारणसभाले गुणराज ढकालको अध्यक्षतामा नयाँ कार्यकारी समितिको निर्वाचन गरेको छ ।

दुई वर्षको कार्यकालका लागि भएको उक्त निर्वाचनबाट उपाध्यक्षमा उत्तम सिटौला, महासचिवमा पदम दुलाल, कोषाध्यक्षमा हस्त पण्डित तथा कार्यकारी सदस्यमा केशवराज खनाल, कृष्णप्रसाद देवकोटा, विश्वराज कार्की, गोकुल गौतम, तेजनारायण ठाकुर, ऋषबराज आचार्य र कृष्णप्रसाद पराजुली छन् ।

साधारणसभाको उद्घाटन गर्दै पूर्वमन्त्री तथा परिसंघका सल्लाहकार संयोजक गणेश साहले नवीकरणीय ऊर्जा प्रविधि र व्यापकता विश्वभरी नै बढ्दै गएको र नेपालमा पनि यसको सम्भावना प्रशस्त रहेकाले त्यसको उपयोगमा सम्बद्ध निकायको भूमिका महत्वपूर्ण रहेको बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले संघीय संरचनाअन्तर्गत संघीय, प्रादेशिक तथा स्थानीय सरकारका साथ सहकार्य गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने र निजी क्षेत्रको सहयोग र सहकार्यमा केन्द्र अघि बढ्नेछ भने ।

उक्त अवसरमा पूर्व ऊर्जा सचिव तथा तत्कालीन संघीय संरचना निर्माण आयोगका प्रमुख बालानन्द पौडेलले मिश्रित ऊर्जा प्रविधिमा केन्द्रित भई स्थानीय सरकारका साथ काम गर्नका लागि सहज वातावरण निर्माण गर्न परिसंघको महत्वपूर्ण भूमिका हुन सक्ने आँैल्याए ।

वातावरण तथा जलवायु परिवर्तनविज्ञ मञ्जित ढकालले हालै जर्मनीको बोनमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप २३ सम्मेलनमा भएका गहन संवाद र सम्मेलनमा उठेका विवाद र सहमतिको व्याख्या गर्दै नेपालले प्राप्त गर्न सक्ने अवसरका बारे बताए ।

प्रा डा प्रेम शर्मा र नवीन भुजेलले नवीकरणीय ऊर्जा प्रविधिको उत्थान र सबैको पहुँचमा पुग्न परिसंघबाट कार्यक्रम अघि बढाउनु उपयुक्त हुनेमा जोड दिए ।

परिसंघमा नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल सौर्य विद्युत् उत्पादक संघ, नेपाल सौर्यतापीय ऊर्जा संघ, नेपाल जल तथा ऊर्जा परार्मदाता संघ, बायोग्यास सेक्टर पार्टनरसिप नेपाल र स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र आबद्ध छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =