म साँच्ची नै कामको हेभीवेट हुँ -मन्त्री गौतम

काठमाडौँ, पुस ७ । सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्नेमा जोड दिए ।

मन्त्री गौतमले समानुपातिक–समावेशी सिद्धान्तका आधारमा एकल संक्रमणीय व्यवस्थाअनुसार अध्यादेश ल्याइएको बताउँदै राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उनको भूमिकामा टिप्पणी गर्नु अमर्यादित हुने विचार व्यक्त गरे ।

काँग्रेस र एमाले बीच राजनीतिक दूरी बढिरहेको अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी भूमिका खेल्नुपर्छ, उनले भने, “विशेषगरी सरकार र दलबीच संवाद सञ्चालन गर्न उहाँको भूमिका यतिबेला खाँचो छ ।”

मन्त्री गौतमले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले उनीहरुले सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै “अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यहीअनुसारको तयारी गर्नुपर्छ” भने ।

संस्थागतरुपमा काँग्रेस सञ्चालन हुन नसक्दा पराजय भोग्नु परेको छ, उनले भने, “अहिलेको परिणामले हामीलाई स्तब्ध बनाएको छ, यसको समीक्षा गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्छ ।”

मन्त्री गौतमले निर्वाचनमा आफ्नो क्षेत्रका जनताले कामको हेभीवेटलाई विश्वास गरेको बताउँदै “मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा शुरुदेखि नै विश्वास थियो, नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *