नवराज सिलवाल ‘फरार अभियुक्त’, कीर्ते जाहेरी दर्ता

 पुस ५, काठमाडौं । नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआइजी) नवराज सिलवालविरुद्ध कीर्ते जाहेरी दर्ता भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा कीर्ते जाहेरी दर्ता गरेको हो ।

कीर्ते जाहेरी दर्ता भएसँगै नेकपा एमालेबाट हालै चुनाव जितेका सिलवाल फरार अभियुक्त दर्ज भएका छन् ।

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्दा आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दा सिलवालले कार्यसम्पादन मूल्याङ्कन (कासमू) कीर्ते गरेको अभियोग लगाइएको छ ।

सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा कासमू कीर्ते गरेको भन्दै कारबाही गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

महानगरीय प्रहरी परिसर स्रोतले सिलवालविरुद्ध कीर्ते गरेको भन्दै जाहेरी दर्ता गरिएको बताएको छ । प्रहरीले थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

प्रहरी स्रोतका अनुसार सिलवालविरुद्ध फौजदारी अपराधअन्तर्गत अनुसन्धान शुरु गरिएको छ । सिलवालविरुद्धको अभियोग प्रमाणित भएमा उनको संसद पद गुम्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *