‘ग्यास उधोगको ४८ वर्षे इतिहासमा सबैभन्दा ठुलो दुर्घटना’

“
पुस ५, काठमाडौँ । पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा लागेको आगो ग्यास उधोगको ४८ वर्षे इतिहासको सबैभन्दा दुखद घटना भएको एलपी ग्यास उद्योग संघले जनाएको छ । संघको कार्यालयमा आज आयोजित पत्रकारसम्मेलनमा संघका अध्यक्ष गोकुल भण्डारीले भने– ‘नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सञ्चालनको इतिहास उद्योगभित्र पहिलोपटक आगलागी भएको छ’,
आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको अध्यक्ष भण्डारीले जानकारी दिए । सो आगलागीमा परी थुप्रै ग्यास सिलिण्डर पड्किएको तर कतिवटा विस्फोट भयो भन्ने यकिन विवरण आइसकेको छैन । उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए ।
चालकले गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गई उक्त दुर्घटना भएको उनले बताए । उनले ग्यास उद्योगमा सञ्चालनमा रहेको सबै भारतीय गाडी तथा ग्यासका बुलेट २० वर्ष पुरानो भएको अनुमान रहेको र त्यसकारण यो दुर्घटना भएको बताए ।
आज बिहान ६ बजे सुपर ग्यास उद्योग प्रालिमा भएको आगलागीका कारण छानबिन गरी संघमा प्रतिवेदन पेश गर्न एलपी ग्यास उद्योग संघले शिवकुमार घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेका छन् ।
“








