जाेसँग लड्न हाँस्य व्यङ्ग्यको हतियारकाे भण्डार थियाे (भिडियाे सहित)
“
चार्ली च्याप्लिन यस्तो नाम हो जसको नाम सुन्ने बित्तिकै हाम्रो अनुहारमा मुस्कान आउँछ । ‘कमेडी र लाफ्टर’ को दुनियाँमा चार्ली च्याप्लिनको नाम नै अग्रपंक्तिमा आउँछ । उनी एउटा यस्ता व्यक्ति हुन् जो रोइरहेका व्यक्तिलाई पनि हँसाउने क्षमता राख्दछन् ।
संसारलाई हँसाउने उनको जीवन पनि निकै दुःखद र गरिबीमा बित्यो । चार्ली च्याप्लिनको जन्म सन् १८८९ को अप्रिल १६ तारिखमा लण्डनमा आमा हेना च्याप्लिन र बुवा चाल्र्स स्पेन्सर च्याप्लिनको सन्तानको रुपमा भएको थियो । उनका बुवा एक म्युजिम हलमा गीत गाउनुका साथै अभिनय गर्दथे । च्याप्लिन परिवारमा कमाइको माध्यम यहि एउटा मात्र थियो । चार्लीको बाल्यकाल निकै गरिबीमा बित्यो ।
उनको बुवालाई रक्सीको यस्तो लत लाग्यो कि उनको यो लतले पूरा घर तहसनहस भयो । उनकी आमा गीत गाएर घरको खर्च उठाउँथिन् तर एक दिन यो सहारा पनि छुट्यो जब गाउँदा गाउँदै उनको आवाज बन्द भयो । – एकदिन चार्लीकी आमा स्टेजमा गीत गाउँदै थिइन् । अचानक उनको आवाज बन्द भयो । त्यहाँ उपस्थित दर्शक चिच्याउन थाले । स्थिती बिग्रँदो थियो । यस्तो अवस्थामा कार्यक्रमका म्यानेजरले पाँच वर्षीय चार्लीलाई नै स्टेजमा उतारे । अबोध चार्लीले आफ्नो सुमधुर स्वरमा गीत गाउँदा त्यहाँ उपस्थित सबैजना मन्त्रमुग्ध भए ।
भिडियाे https://www.youtube.com/watch?v=4CIv-HZJWbU
चार्लीको गीत सुन्नेबित्तिकै स्टेजमा सिक्का बर्सन थालेको थियो ।चार्ली जब तीन वर्षका थिए त्यतिबेला नै उनका आमा–बुवा छुट्टिएका थिए । गरिबीका कारण चार्ली आफ्ना भाइसँग अनाथआश्रममा बस्न बाध्य भए । यतिमात्र होइन उनको जीवनमा यस्तो दिन पनि आयो जब उनकी आमा पागल भइन् । त्यतिबेला चार्ली आफ्नो बुवाको घरमा बस्नुपर्ने बाध्यता भयो जहाँ सौतेनी आमाको यातना पनि सहनुपर्यो । चार्लीलाई बाल्यकालदेखि नै पढाईमा रुची थिएन त्यसकारण उनले ‘लंकाशायर ल्याण्ड्स’ नामको एक बालनृत्य मण्डलीमा भर्ती भए ।
मण्डलीका मालिकको नाम ज्याक्सन थियो । चार्ली च्याप्लिनले निकै मेहेनत गरे तर उनले आफ्नो नृत्यले जनतालाई आकर्षित गर्न पाएका थिएनन् किनभने उनलाई सुरुवाती दिनदेखि नै ‘कमेडी एक्ट’ गर्न मन लाग्दथ्यो । ज्याक्सन कलाका पारखी थिए । एकपटक उनले चार्लीले ‘द ओल्ड क्यूरोसिटी शप’ भन्ने नाटकमा बुढोको अभिनय गरेको देखेका थिए । त्यहि अभिनयबाटै उनले चार्लीमा अभिनयमा अद्भुत कला भएको थाहा पाइसकेका थिए । जिन्दगीको संधर्षसँग जुध्नका लागि चार्लीले भिन्न भिन्न काममा आफ्नो भाग्यलाई तौलिने काम गरे ।जीवन धान्नका लागि चार्लीले फूलको गुच्छा बनाएर रक्सी पसलको बाहिर बेच्ने गर्दथे ।
यतिमात्र होइन, जब उनकी आमा पागलखानामा थिइन् तब उनले आफ्नो पेट पाल्नका लागि थुप्रै ठाउँमा नोकरको कामसमेत गरेका थिए ।चार्लीको जीवनको लक्ष्य अभिनेता बन्नु थियो त्यसकारण उनी नियमित रुपमा ‘ब्ल्याक मोर थिएटर’ जाने गर्दथे । त्यहाँ नै उनले हेमिल्टनसँग भेट गर्ने मौका पाए । उनलाई भेटेपछि चार्लीको जीवनमा कायापलट भयो । चार्लीलाई पढ्न आउँदैनथ्यो त्यसकारण उनलाई संवाद रटाइन्थ्यो ।‘शरलक होम्स’ नामक नाटकमा अभिनय गर्ने चार्लीले साबित गरे कि उनीभित्र क्षमताको खानी छ । चार्लीले आफ्नो धेरैजसो फिल्ममा ट्रेप नामको भूमिकाको चित्रण गर्दथे, जुन चार्लीको आफ्नै अतित थियो ।
दुब्ला, फुच्चे र फटाहा ट्रेपको अभिनयले दर्शकलाई निकै हँसायो । त्यतिबेला पूरा युरोप आर्थिक मन्दीबाट गुज्रिरहेको थियो । तानाशाहको आतंक थियो । त्यतिबेला चार्लीसँग हिटलरको नाजीवादसँग लड्नका लागि हाँस्य र व्यङ्ग्यको हतियार थियो । हाँसोमार्फत कसरी डरलाई जित्न सकिन्छ भन्न बारे चार्लीले मानिसलाई सिकाए ।
अमेरिकाप्रति चार्लीको निकै लगाव थियो तर अमेरिकाको कठोरताले उनलाई भित्रैदेखि हल्लाएको थियो । उनकी श्रीमती ऊना ओनिलले पनि अमेरिकाको नागरिकता छोडेकी थिइन् । चार्लीलाई अनेकौं पुरस्कारले सम्मानित गरियो । चार्लीको मृत्युको दुई दशक पछि पनि उनी धेरैजसो मानिसहरुका लागि उत्कृष्ट कमेडियन थिए । २५ डिसेम्बर सन् १९७७ को क्रिसमसको दिन पूरा संसारलाई हँसाउने यी व्यक्तिले सारा संसारलाई रुवाएर बिदा भए ।
“