सत्ता हस्तान्तरणका लागि बैधानिक बाटो खोजेको सरकारको दावी


“
पुस ४, काठमाडौं । सरकारले सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भईरहेको दावी गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी सरकार बैधानिक बाटोबाटै सत्ता हस्तान्तरण गर्न लागि परेको बताएका हुन् ।
उनले प्रतिनिधिसभालाई पूर्णता दिएर छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न सरकारले राष्ट्रपति समक्ष राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश पेश गरिएको पनि स्पष्ट पारे । प्रवक्ता बस्नेतले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण नगरेका कारण नयाँ सरकार बनाउने बाटो अवस्द्ध हुन पुगेको तर्क पनि गरे । उनले प्रतिनिधि सभालाई पूर्णता दिई सरकार गठन प्रक्रिया अघि बढाउन पनि राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश प्रमाणीकरण गर्न ढिलाई गर्न नहुने पटक–पटक दोहो¥याए ।
सरकारका प्रवक्ता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएसम्म वर्तमान सरकारले राजनीतिक नियुक्ती, सरुवा र बढुवा गरिरहने पनि स्पष्ट पारे । उनले नयाँ सरकार नबनेसम्म वर्तमान सरकार नियुक्ती, सरुवा र बढुवा लगायतको काम गर्न दृढ रहेको पनि बताए । एमाले, माओवादी केन्द्रलगायतका दलहरुले सरकार काम चलाउ भएकाले नियुक्ती, सरुवा, बढुवालगायतका काम गर्न नमिल्ने तर्क गर्दै आएका छन ।
तर सरकारका प्रवक्ता बस्नेतले भने नयाँ सरकार नबन्दासम्म सरकारले आफ्नो कामलाई सहज ढंगले अघि बढाउने बताए ।
प्रवक्ता बस्नेतले सरकारले राजीनामा नदिएको अवस्थामा नियुक्ती, सरुवा, बढुवा लगायतका काम गर्न हुँदैन भन्न नमिल्ने तर्क पनि गरे ।
“
