बामदेवलाई हराउने अन्तरघाती खोज्न छानविन समिति गठन


“
पुस ३, बर्दिया । नेकपा एमालेले पार्टीका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमको पराजयको कारण खोज्न छानविन समिति गठन गरेको छ । एमाले बर्दिया जिल्ला कमिटीले छानविन समिति गठन गरेको हो ।
एमाले अध्यक्ष हरिप्रसाद ज्ञवालीका संयोजकत्वमा गठित समितिमा माओवादी नेता भुवन कुमार थारु पनि सदस्य छन् । समितिले हारका कारण खोजेर एक साताभित्र प्रतिवेदन पेश गर्ने एमालेले जनाएको छ ।
एमाले र माओवादी मिल्दा २० हजार भन्दा बढी मत भएको बर्दिया १ मा एमाले उपाध्यक्ष गौतम कांग्रेसका सन्जयकुमार गौतमसँग ७ सय मतले पराजित भएका थिए । गौतमको हारको पछाडि एमाले र माओवादीभित्रकै अन्तर्घात कारण रहेको अनुमान गरिएको छ ।
निर्वाचन हारेपछि एमाले उपाध्यक्ष गौतमले देशब्यापी वाम गठबन्धन विजयी हुँदा आफ्नो हारका पछाडी ठुलै षडयन्त्र रहेको भन्दै छानविन गरेर सत्यतथ्य पत्ता लगाउने प्रतिक्रिया दिएका थिए ।”
