प्रदेश सभासद सुवेदीको संकल्प–‘आफ्नै वडाबाट विकासको थालनी गर्छु’

पुस २, भरतपुर । चितवन क्षेत्र नम्बर २ को प्रदेशबाट निर्वाचित भएका विजय सुवेदीले आफ्नै टोल र वडाबाट विकास थालनी गर्ने बताएका छन् । भरतपुर १२ मा रहेको जिल्ला प्रशासन एकता टोल विकास संस्थाको चौथो साधारण सभाको उद्घाटन गर्दै सुवेदीले भने, ‘मैले सबैभन्दा नजिक रुपमा आफ्नै टोल र वडालाई हेर्नुपर्छ, विकासको थालनी आफ्नै टोलबाट सुरु गर्नुपर्छ ।’ सुवेदी भरतपुर १२ मिलनचोक निवासी हुन् ।

उनले प्रदेश सभासद्को कहाँ, कतिसम्म अधिकार हुन्छ, त्यो अहिले निश्चित नभएको बताउँदै सुवेदीले भने, ‘टोललाई म के सहयोग गर्नुपर्छ गर्छु, निरञ्न्तर टोलको सेवामा लाग्छु ।’ उनले जिल्ला प्रशासन एकता टोललाई सम्पूर्ण विकास भएको टोल बनाउने संकल्प गरेका छन् । कार्यक्रममा उनले भने, ‘मैले आफ्नो टोललाई नमुना बनाउन के गर्नुपर्छ त्यो गर्न तयार हुन्छु । निर्वाचित भएपछिको पहिलो औपचारिक कार्यक्रम सुवेदीले आफ्नै टोलबाट सुरु गरेका हुन् । उनले आफू ५ वर्षसम्म कुनै दलमा नभएको अनुभूति जनतालाई दिलाउनेसमेत बताए ।

जिल्ला प्रशासन एकता टोल विकास संस्थाले साधारण सभामा टोलमा एसईईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको थियो । त्यस्तै टोलले ८० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरेको छ । संस्थाका सचिव सोमनाथ तिवारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तिवारीले कामकाजको यथार्थ गतिविधिका साथै संस्थाको संगठनात्मक अवस्थामाथि प्रकाश पारेका थिए ।

संस्थाका अध्यक्ष हेमबहादुर न्यौपानेले एकता टोलले स्थानीय जनतालाई बजारको सहरीकरणको लागि हाटबजार र बचत कार्यक्रम सञ्चालन गर्दै आएको बताए । संस्थाका कोषाध्यक्ष तथा बचत तथा ऋण परिचालन उपसमिति संयोजक अनिता भण्डारी खनालले आयव्यय प्रस्तुत गरेकी थिइन् ।

अध्यक्ष न्यौपानेले टोलका ११५ भन्दा बढी घरधुरी रहेका र सडकका सबै पोलमा चिम राखेर टोललाई अँध्यारोबाट मुक्त पारिएको बताए । संस्थाले हाटबजार सञ्चालनबाट १० लाख ३३ हजार ९६४ रुपैयाँ आम्दानी गरेको छ भने बचतबाट १३ लाख ८२ हजार ७ रुपैयाँको कारोबार गरेको छ । हाटबजार सञ्चालनबाट संस्थाले खर्च कटाएर ६८ हजार ६६४ रुपैयाँ बचत गरेको छ । त्यस्तै बचत कार्यक्रमबाट ५४ हजार ३५५ रुपैयाँ संस्थाले बचत गरेको छ ।

कार्यक्रममा भरतपुर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्गवा, स्याउलीबजार टोलका सचिव रामबाबु श्रेष्ठ, हाटबजार व्यवस्थापन संघका लालबहादुर राय, विष्णु पौडेल, बाबुराम विश्वकर्मा, मानबहादुर खड्कालगायतले मन्तव्य दिएका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *