स्वास्थ्य मन्त्रीको पत्रकार सम्मेलनमा डा. रौनियारको दोहोलो

पुस ३, काठमाडौँ । स्वास्थ्य मन्त्री दीपक बोहराले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले पदिय हैसियत भन्दा बाहिर गएर आरोप लगाएको बताएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर प्रतिष्ठानको सिनेटको निर्णय बमोजिम काम गर्दा उपकूलपति डा. राजकुमार रौनियारले केही मिडिया प्रयोग गरेरै आफूलाई बद्नाम गरेको बताएका हुन् ।
गत कार्तिक ३० गते स्वास्थ्य मन्त्रालयमा बसेको ४० औँ सिनेटले गरेका निर्णय र कार्यको निरन्तरताका लागि मङ्सिर २९ गते सिनेट बोलाईएकोमा उपकुलपतिले घरायसी बिदा जनाउँदै बिदामा बसेको र सोही समय केही मिडिया प्रयोग गरेर आफ्नो मान मर्दन गरेको बताए ।

‘कार्तिक ३० गते बसेको ४० औँ सिनेटले नै अर्को सिनेट १ महिनापछि बस्ने निर्णय गरेकोले मङ्सिर २९ गते बोलाईएको थियो । तर, मलाई बद्नाम गराउन अनेक आरोप लगाईयो ।’ उनले भने । मन्त्री बोहराले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निर्माण भइरहेको मात्तृशिशु भवन, कार्डियोलोजी र अंकोलोजी भवनका कागजातहरू झिकाएर अनुसन्धान गर्ने सिनेटले निर्णय गरेकोले सोही बैठकको निरन्तरताका लागि आफूले बैठक बोलाएको स्पष्ट पारे ।

‘कार्तिक ३० गतेको सिनेटले प्रतिष्ठानमा निर्माण भएका नभएका भवनहरुको आवश्यक कागजात सिनेटमा पेस गर्ने, भवन निर्माणमा भएका अनियमितता र अन्य विषयमा छानबिन गर्ने भनेरै स्वास्थ्य सचिव डा. किरण रेग्मीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । त्यो समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा सिनेटमा प्रतिवेदन पेस गर्न खोज्दा मेरो चरित्र हत्या गर्ने काम भएको छ ।’ उनले भने ।

मन्त्री बोहराले विद्यमान कानुनी प्रक्रिया, आधार र प्रतिष्ठानको ऐन नियम सङ्गत बोलाईएको सिनेटलाई आधारहिन भनेर समाचार संप्रेषित गरेको भन्दै उपकूलपतिले आफ्नो स्वार्थ पुरा गर्न आफूलाई बद्नाम गरेको जिकिर गरे । ‘प्रतिष्ठानको ऐन नियम अनुसार सिनेट बोलाउँदा मात्तृशिशु स्याहार केन्द्रको बजेट स्वीकृत गरी मोटो रकम कमिसन लिने दाउमा सिनेट बोलाएको भनिएको छ, आधारहिन, कपोकल्पीत तवरले लेखिएको समाचारले व्यक्तिगत चरित्र हत्या गर्ने काम भएको छ । यसको भत्सर्ना गर्छु ।’ पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बोहराले बताए । केही मिडिया किनेकै भरमा सत्य कुरा ढाकछोप नहुने भन्दै सिनेटले गरेका निर्णयहरू सार्वजनिक गरे ।

उनले प्रतिष्ठानमा निर्माणाधिन मात्तृशिशु भवन, कार्डियोलोजी, अंकोलोजी भवनमा भएका अनियमितता र कार्य प्रगतिका कुरा ४० औँ सिनेटमा उठेको र त्यही सिनेटले गरेको निर्णयलाई उपकूलपतिले अटेर गरेको समेत जिकिर गरे ।

कार्तिक ३० गते बसेको ४० औँ सिनेट बैठकको निर्णय नं. ३११ मा प्रतिष्ठानको आ.व. ०७२/०७३ को लेखा परीक्षण भईसकेका वित्तीय विवरणहरुमा आवश्यक कागजातहरू थप गरी सञ्चालक परिषद्को आगामी बैठक (मङ्सिर २९ गते) पेस गर्ने, आ.व. ०७३÷०७४ को लेखा परीक्षण हुन बाँकी रहेको वित्तीय बिवरणहरुमा थप कागजात पेस गर्ने निर्णय गरिएको छ । भने, आ.व. २०७२÷०७३ देखि निर्माणाधिन रहेको मात्तृशिशु भवन, कार्डियोलोजी भवन र अंकोलोजी भवनहरुको आवश्यक कागजातहरू परिषद्मा पेस हुन नसकेकोले ती कागजातहरू यसै सिनेट बैठकलाई निरन्तरता दिई पुनः सिनेट बस्ने भनिएको थियो । तर, प्रतिष्ठानका उपकूलपति डा. रौनियारको हवाला दिँदै केही सञ्चार माध्यममा सिनेटकै निर्णयलाई अपब्याख्या गर्दै मन्त्री बोहराको ‘इन्ट्रेष्ट’ मा दीक्षान्त समारोह र जरुरी एजेन्डा नभईकनै सिनेट बोलाएको भनिएको थियो ।

पत्रकार सम्मेलनमा मन्त्री बोहराले तीन सदस्यीय समितिले प्रतिवेदन बनाएर मन्त्रालयमा पेस गरिसकेको भन्दै सोही प्रतिवेदन पेस गर्नपनि सिनेट बोलाईएको दाबी गरे । ‘समितिले मन्त्रालयमा प्रतिवेदन पेस गरेको छ, त्यसलाई छलफलमा ल्याउन नचाहेर पनि अनेक हथकण्डा अपनाईएको हुनसक्छ ।’ मन्त्री बोहराले प्रतिवेदनमा के छ भनेर नखुलाएपनि मन्त्रालय स्रोतका अनुसार भवन निर्माणमा अनियमितता भएको पुष्टि हुने आधार देखिएको छ । समितिले तीन साता लगाएर तयार पारेको प्रतिवेदनलाई पदाधिकारीहरुले अनुसन्धान नै नगरी तयार गरेको भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्री बोहराले प्रतिवेदनमा के छ भन्ने जानकारी दिन र निर्णय गर्नकै लागि सिनेट बोलाईएको स्पष्ट पारे ।

मन्त्री बोहराले प्रतिष्ठानका निमित्त उपकूलपति डा. गुरु खनालले कार्तिक २७ गते पत्रदेखि उपकूलपति घर बिदामा रहेको तथा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई मातृशोक परेको जानकारी गराएको बताउँदै प्रतिष्ठानबाट प्राप्त पत्र समेत देखाए ।
उनले आगामी पौष १२ गते पुनः ४० औँ सिनेटको निरन्तरताको सिनेट आब्हान गर्ने जानकारी दिए ।

स्रोतका अनुसार प्रतिष्ठान व्यवस्थापनले मन्त्री बोहरालाई नै ‘मोहरा’ बनाएपछि स्वास्थ्य मन्त्री आगो भएका छन् । उनले प्रतिष्ठान व्यवस्थापन र उपकूलपतिले गरेका कतिपय निर्णयहरू नियम र पद्धति विपरीत भएको भन्दै मन्त्री परिषद्मा लागे समेत तयारी गरेका छन् । आफूलाई काम चलाउ सरकारको मन्त्री भन्दै प्रतिष्ठानका पदाधिकारीले अपहेलना गरेको र प्रतिष्ठानमा निर्माणाधिन भवनहरू, एमआरआई उपकरण खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरीरहेकोले अब ती विषयहरू मन्त्री परिषद्मा पनि लैजाने तयारी गरेका छन् ।

प्रतिष्ठानले पछिल्ला केही महिना यता स्वास्थ्य सेवा सुधार र शैक्षिक सुधारका काम भन्दापनि उपकरण खरिद र भवन निर्माणका योजनालाई प्राथमिकता दिएको छ । कार्डियोलोजी, अंकोलोजी र एमआरआई उपकरण खरिदमा व्यापक चलखेल भएको भन्दै प्रतिष्ठानबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि विभिन्न कागजात नियन्त्रणमा लिएको छ । तर, आयोगले महिनौं सम्म अनुसन्धानका नाममा कागजात नियन्त्रण लिनु बाहेक कुनै अनुसन्धान नगर्नुमा पनि शङ्का उब्जिएको छ ।

एक वर्ष अघि स्वास्थ्य मन्त्री गगन थापाको पालामा १४ करोड बढी नजराना बुझाएर उपकूलपति भएका डा. रौनियार अहिले त्यही पैसा उठाउनका लागि मेडिकल सप्लायर्स र ठेकेदारसँग हतारहतार सेटिङ गरिरहेका छन् ।
उनले अंकोलोजी भवनका लागि नेपाल सरकारले दिएको बजेट समेत रकमान्तर गरेर एमआरआई उपकरण खरिदमा खर्च गरेपछि चौतर्फी आलोचना भएको थियो । उनको स्वेच्छाचारी कदमले प्रतिष्ठानका फ्याकल्टी र सिनियर चिकित्सक समेत दिक्क भएका छन् । उनी उपकूलपति भएर आइकन प्रतिष्ठानबाट आधादर्जन वरिष्ठ विषेशज्ञ चिकित्सकले काम गर्ने वातावरण नभएको भन्दै प्रतिष्ठान छाडेर गईसकेका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री बोहराले मृगौला तथा क्यान्सर जस्ता जटिल रोगहरुबाट पीडित बिरामीलाई सरकारले उपचार सहुलियत प्रदान गर्दै आएकोमा अब त्यस्ता प्रकारका बिरामीलाई जीवन निर्वाहको लागि मासिक ५ हजार भत्ता दिने मन्त्रालयले निर्णय गरेको र आगामी मन्त्री परिषद्मा लैजाने जानकारी पनि दिए । उनले देश सङ्घीय संरनामा गईसकेकोले स्वास्थ्य जनशक्तिलाई पनि सोही अनुसार व्यवस्थापन गर्ने कार्यको लागि अन्तिम प्रारुप तयार भइसकेको, अस्पतालहरुको भौतिक संरचना, कार्यालय, जनशक्ति, औजार र उपकरणहरू सङ्घीय संरचना अनुसारको बनाउन पहल भइरहेको जानकारी दिए ।

आफू मन्त्री भएर आएपछि मन्त्रालयले गरेका कार्य प्रगतिहरु समेत बताएका थिए । उनले आफूले डा. गोविन्द केसीले उठाएका मागहरू सम्बोधन गर्न पहल गरेको, सिएमए सङ्घको धर्ना कार्यक्रम, नेपाल नर्सिङ सङ्घका विभिन्न मागहरू सम्बोधन गर्न प्रक्रिया अघि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *