धरानको बुढासुब्बा फुटबल प्रतियोगितामा नयाँ प्रविधिको प्रयोग
“
पुस २, धरान । विश्वकप फुटबल सहित अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगितामा प्रयोग हुन थालेको प्रोफेसनल रेफ्री कम्युनिकेशन सिस्टम पहिलो पटक नेपालमा बुढासुब्बा फुटबल प्रतियोगितामा प्रयोग हुने भएको छ ।
उक्त उपकरण धरान फुटबल क्लबलाई प्राप्त भएपछि प्रतियोगितामा उपयोग हुने भएको हो । क्लबलाई ४ थान प्रविधि सहितको उपकरण बेलायतमा रहेका धरानेहरुका संस्था धरान युके समाजबाट बुढासुब्बा फुटबल प्रतियोगिताका लागि सहयोग स्वरूप प्रदान गरिएको हो ।
फुटबलको दुनियामा आएको गोलको निर्णय गर्ने नियम र आधुनिक प्रविधिहरू नेपालका सुविधा विहीन खेल मैदान तथा आयोजकहरु भएको अवस्थामा त्यस्ता प्रविधि कमै प्रयोग भएका छन् ।
परम्परागत रूपमा फुटबल प्रतियोगीताहरुमा खेलका नियमहरू पालन गराउन मुख्य रेफ्रीले निर्णय गर्दा लाइन्स मेनको रूपमा रहेका सहायक रेफ्रीहरुले हातमा लिएको झन्डा (फ्रलाग)को सङ्केतका आधार लिन्छन् । तर, तत्काल कस्तो किसिमको नियम उल्लंघन भएको हो, मुख्य रेफ्रीले थाहा नपाउन/नदेख्न सक्छन् ।
विकसित देशहरूका फुटबलहरुमा प्रयोग हुनै प्रोफेसनल रेफ्री कम्युनिकेशन सिस्टमले हिजोआज मुख्य निर्णायक रेफ्री र लाइन्स मेन बिच तत्कालै सिधा सम्पर्क गराउने गर्दछ । सञ्चारको यो सुविधाले तत्काल मुख्य रेफ्रीले खेलमा भएको नियम उल्लंघन र कहिले काहीँ पलाग उठाएको समेत नदेखेको/थाहा नपाएको अवस्थामा उसलाई ध्यानाकर्षण गराउने काम गर्दछ ।
यसबाट फुटबल खेलाई पूर्ण व्यावसायिक बनाउन खेलकुदको उद्देश्य अनुशासन, गतिशीलता, विकास र विविधता तर्फ खेलाडी लाई अभिप्रेरित गर्ने विश्वास गरिएको एन्फा उपाध्यक्ष किशोर राईले बताएका छन् ।
क्लबमा शनिवार आयोजित प्रविधि हस्तान्तरण कार्यक्रममा राईले भने ‘रेफ्री जस्तो तत्काल प्राविधिक निर्णय गर्नुपर्ने र त्यस्तो निर्णय दसौँ हजार दर्शकका अघि समय सापेक्ष बनाउन सहयोगीको रूपमा नयाँ प्रविधि प्रयोगमा आएको हो ।’ उनले नयाँ प्रविधि नेपालमा पहिलो पटक धरानको प्रतिष्ठाको रूपमा रहेको बुढासुब्बा गोल्डकपमा प्रयोग गर्ने अवसर प्रदान गरेकोमा धरान युके समाजप्रति हार्दिक आभार व्यक्त गरे ।
उक्त अवसरमा उक्त उपकरणहरू क्लबका अध्यक्ष समेत रहेका किशोर राई लाई धरान युके समाजका अन्जनकुमार गुरुङले हस्तान्तरण गरेका थिए । गुरुङले प्रोफेसनल रेफ्री कम्युनिकेशन सिस्टम जुटाउन युकेमा समाजका पदाधिकारीहरू सूर्यमान गुरुङ, राजु लिम्बू, निर्मल दास गुरुङ र किरण शर्मा धरान फुटबल क्लब पूर्व खेलाडी र धरानबासीहरुले सकृयाता पूर्वक सहयोग सङ्कलन गरेको बताए । कार्यक्रम सञ्चालन क्लबका महासचिव प्रताप तामाङले गरेका थिए ।
“