प्रदेश ७ को राजधानी माग्दै जिल्ला–जिल्लामा दबाब

पुस १, धनगढी । प्रदेश नं ७ को राजधानी कुन जिल्लामा राख्ने भन्ने विषयले सुदूरपश्चिमका जिल्लाहरु
आन्दोलित हुन थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै प्रदेश राजधानीका लागि रस्साकस्सी सुरु भएको हो ।
प्रदेश राजधानीको माग गर्दै विभिन्न जिल्लामा आन्दोलन जुर्मुराउन थालेका छन् । प्रदेश राजधानी पहाडमै हुनु पर्ने मागसहित डडेल्धुरामा आन्दोलन सुरु भएको छ । कैलाली बासीको पनि अत्तरिया या धनगढी राजधानी हुनुपर्ने दावी रहँदै आएको छ ।

यता, पाटनलाई राजधानी बनाउनु पर्ने माग गर्दै बैतडीमा पनि आन्दोलन भइरहेको छ । दिपायलमै राजधानी हुनु पर्ने भन्दै डोटी उद्योग बाणिज्य संघले आन्दोलन गरेको थियो । कतिपयले कञ्चनपुरलाई राजधानी बनाउन माग गरेका छन् ।

प्रदेशको राजधानी सम्वन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरे अनुसार हुने संवैधानिक व्यवस्था छ । संबिधानको धारा २८८ को उपधारा २ मा भनिएको छ, ‘यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ ।’ तर, उपधारा ३ अनुसार सरकारले पर्सि अस्थायी मुकामहरु तोक्ने तयारी गरेको छ ।

राणाकालमा देशका चार गौणामध्ये एक डोटीमा रहेको र साविकको सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि भएकाले डोटी नै राजधानी हुनु पर्ने एक पक्षको तर्क छ । क्षेत्रीय सदरमुकाम भएका कारण डोटीमा सरकारी भौतिक संरचनाहरु रहेको र भौगोलिक दुरीका आधारमा पनि केन्द्र भएका कारण राजधानी डोटी हुनुपर्ने तर्क छ ।

डोटीका नेताहरु पनि डोटी राजधानी हुने बताउँछन् । ‘हरेक दृष्टिले दिपायल नै उपयुक्त हो’ प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगर भन्छन्, ‘दिपायल राजधानी हुने कुरामा दुई मत छैन ।’ राजधानी दिपायल बनाउनका लागि आफु जस्तो सुकै लडाइ लड्न पनि तयार रहेको उनको भनाइ छ ।

कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरवहादुर बलायर पनि त्यही तर्क गर्छन् । ‘अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा पनि दिपायलनै राजधानी हुने बताएको थिएँ, अहिले पनि मेरो अडान त्यसैमा कायम छ’ उनले भने । डोटीलाई प्रदेशकमो राजधानी बनाउन पार्टीभित्र र मन्त्रिपरिषद्मा दबाब दिने उनले बताए ।

यता, कैलालीका नेताहरु भने प्रदेश राजधानी कैलाली नै हुनु पर्ने दाबी गर्दै आएका छन् । कैलाली व्यापारिक केन्द्र भएको र जनसंख्या पनि बढी भएको उनीहरुको तर्क छ । कैलाली ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लेखराज भट्टले प्रदेश राजधानी कैलाली नै हुने दाबी गरे ।

क्षेत्र नम्बर ५ बाट निर्वाचित एमाले नेता नारदमुनी राना पनि कैलालीमै राजधानी हुने बताउँछन् । ‘सवै हिसावले प्रदेश ७ को राजधानी पायक पर्ने ठाउँ धनगढी(अत्तरिया नै हो’ सांसद रानाले भने, ‘यसमा शंका नगर्न आग्रह गर्छु ।’

तर, सुदूरपश्चिम क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलको संयोजकत्वमा गठित प्रदेशको अस्थायी राजधानी निर्धारण सम्वन्धी अध्ययन टोलीले दिपायल सिफारिस गरेको छ । मुख्यमन्त्री कार्यालयका लागि क्षेत्रीय स्वास्थ्य कार्यालयको नवनिर्मित भवन सिफारिस गरिएको क्षेत्रीय उपप्रशासक शंकर विष्टले जानकारी दिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *