चितवनमा ७७ जनाको जमानत जफत

मङ्सिर २९,भरतपुर। चितवनका मतदाताले साना दललाई रुचाएको देखिएन । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा साना दलका उम्मेदवारहरुको जमानत नै जफत भएपछि साना दललाई चितवनका मतदाताले नरुचाएको देखिन्छ ।

चितवनको ३ प्रतिनिधि र ६ प्रदेश सभा गरी जम्मा ९ क्षेत्रमा प्रत्यक्षतर्फ ९५ जना उम्मेदवार थिए । ९५ जनामा १८ जना उम्मेदवारको मात्रै जमानत जोगिएको छ । ७७ जना उम्मेदवारको जमानत नै जफत भएको छ । सबै साना दलका उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भएको छ ।

वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबाहेक बाँकी सबै उम्मेदवारको जमानत जफत भएको हो । ‘विजयी उम्मेदवार र निकटतम प्रतिद्वन्द्वीबाहेक सबैको जमानत जफत भएको पाइयो’ क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत परमेश्वर पराजुलीले भने । उनले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने बताए ।

चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि र प्रदेश गरी ३३ जना उम्मेदवार थिए । ३३ जनामा ६ जनाले मात्र जमानत जोगाए । २९ जनाको जमानत जफत भएको छ । जमानत जोगाउने भनेका विजयी उम्मेदवार (वाम गठबन्धन) र निकटतम प्रतिद्वन्द्वी (लोकतान्त्रिक गठबन्धन) उम्मेदवार हुन् ।
चितवनको ३ वटा क्षेत्रमा विवेकशील साझा, नयाँ शक्ति, राजपा, जनमोर्चा, देजमो, नेमकिपा, संघीय समाजवादी, मंगल नेशनल अर्गनाइजेसनलगायतका साना दलको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जमानत जफतमा पर्नेहरुमा स्वतन्त्र उम्मेदवार पनि छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारको एक हजार मत कटेको छैन ।

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेशतर्फ ३४ जना उम्मेदवार थिए । यहाँ पनि ६ जनाले जमानत जोगाए । २८ जनाको जमानत जफत भएको छ । प्रतिनिधितर्फ १५ जना, प्रदेश १ मा ९ जना र प्रदेश २ मा १० जना उम्मेदवार थिए ।
क्षेत्र नम्बर २ मा पनि साना दलका उम्मेदवारको नै जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत मत नल्याउनेहरु २८ जना सबैको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी चितवन क्षेत्र नम्बर ३ मा पनि २२ जना उम्मेदवारको जमानत जफत भएको छ । क्षेत्र ३ मा २८ जना उम्मेदवार थिए । क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत शम्भु रेग्मीका अनुसार यस क्षेत्रमा प्रतिनिधितर्फ १४ जना, प्रदेश १ मा ७ जना र प्रदेश २ मा पनि ७ जना उम्मेदवार थिए । यहाँ पनि साना दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको उनले बताए ।

जमानत जफतबाट जोगिन प्रतिनिधि सभामा प्रत्यक्षतर्फका उम्मेदवारहरुले चितवन क्षेत्र नं. एकमा आठ हजार ९०० मत कटाउनु पर्ने थियो । क्षेत्र नं. दुईमा सात हजार कटाउनुपर्ने थियो । क्षेत्र नं. तीनमा नौ हजार ५०० मत कटाउनुपर्ने थियो । चितवनका सबै प्रदेशतर्फ ४ हजार मत उम्मेदवारले कटाउनुपर्ने थियो । चितवनबाट किशोर खनाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *