गुजरातको मत परिणाम भाजपाको पक्षमा जाने संकेत 

काठमाडौं, मंसिर २९ । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी (भाजपा) विजय हुने चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति लगाए पनि सम्भव नदेखिएको नतिजा आउनुपूर्वका सर्वेक्षणहरुले देखाएका छन् ।

हालैमात्र कंग्रेस अध्यक्ष बन्नुभएका राहुल गान्धीका लागि यो चुनाव परिणाम निकै महत्व मानिएको छ । त्यसैगरी प्रधानमन्त्री मोदीका लागि पनि आफ्नो लोकप्रियता जाँच्ने मूख्य आधार मानिएको छ । यसमा अधिकांश सर्वेक्षणहरुले नरेन्द्र मोदी–अमित शाहको जोडीकै पक्षमा परिणाम जाने देखाएका छन् । कंग्रेसले गुजरातको परिणाम आफ्नो पक्षमा पार्न यसअघि भाजपालाई सघाउँदै आएका पाटीदार पटेल समुदाय, दलित र पिछडावर्गका युवा नेताहरुलाई आफ्नो अभियानमा सामेल गरेको थियो ।

आरक्षणको मुद्दा उठाएर चर्चामा आएका हार्दिक पटेलको पूर्ण समर्थन कंग्रेसलाई रहे पनि परिणाम उल्ट्याउन गाह्रो पर्ने दावी ती सर्वेक्षणहरुले गरेका छन् । १८२ सदस्यीय विधान सभाका लागि गुजरातमा दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । बिहीबार दोस्रो चरणको निर्वाचन सकिएलगत्तै सार्वजनिक गरिएका सर्वेक्षणहरुमा भाजपाले ९९ देखि ११३ तथा कंग्रेसले ६८ देखि ८२ सिटसम्म ल्याउन सक्ने आंकलन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *