निर्वाचनमा धाँधली भएको भन्दै प्रर्दशन, सुनसरी–३ का जनताले बुझाए ज्ञापनपत्र

मंसिर २८, सुनसरी । राज्य सत्ता सँगको सेटिङमा प्रत्यासी उम्मेद्वार विजयकुमार गच्छदारले भगवती चौधरीलाई निर्वाचनमा हराएको भन्दै सुनसरी जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाईएको छ । आज बिहीबार इनरुवा स्थित जिल्ला निर्वाचन कार्यालयमा नेकपा एमाले बाम गठबन्धनका सयौं समर्थकहरुले नेपाली कांग्रेसका उम्मेद्वार गच्छदारले प्रहरी प्रशासन र निर्वाचन कार्यालयका पदाधिकारीकै मिलेमतोमा बाम गठबन्धनकी साझा उम्मेद्वार चौधरीलाई सड्यन्त्र पूर्वक हराएको जिकिर गर्दै पुनः निर्वाचनको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

गत मंसिर २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ मा प्रत्यासी उम्मेद्वार गच्छदारले मतदान तथा मतगणनामा प्रहरी प्रशासन र निर्वाचन अधिकृत नै किनेर आफुलाई पराजीत गरेको भन्दै पत्रकार सम्मेलन नै गरेकी थिइन् ।

आज निर्वाचन कार्यालयले सो क्षेत्रबाट विजयी भएका गच्छदारलाई निर्वाचित प्रमाणपत्र दिने कार्यक्रम थियो । तर, चौधरीको समर्थनमा गएका सयौं कार्यकर्ता तथा महिलाहरुको अवरोधका कारण गच्छदारलाई प्रमाणपत्र दिन पनि समस्या भएको थियो । चौधरीलाई धाँधलीपूर्वक हराएको भन्दै सयौं महिला तथा कार्यकर्ताहरुले इनरुवामा प्रर्दशन गर्दै निर्वाचन आयोगको कार्यालय गएका थिए ।

२०७० सालमा जस्तै यस पटकको निर्वाचन पनि निष्पक्ष र धाँधली रहित ढँगले हुन नसकेको भन्दै मतदान प्रकृया देखि मतगणना सम्म नै सत्ता र शक्तिको आडमा अनेक षडयन्त्र भएका प्रमाणहरु भेटिएको दावि गरिएको छ ।

निर्वाचन कार्यालय सुनसरीलाई बुझाईएको ज्ञापन पत्रमा मतदानको दिन मतदान अघिकृतले मुचुल्का उठाउन प्रयोग गरिने खाली कागजपत्र मतगणना र मतपेटिक सिल गर्न प्रयोग गरिने ने.रा.मा.वि. बेलाहा (क) मतदान केन्द्र ३९३ को मुचुल्का फाईल मतगणना स्थल वाहिर भेटिएको, मत गणनाको क्रममा अर्घकट्टि सहितको नौ वटा मतपत्र फेला परेको, मतपेटिकामा प्रयोग गरिने सुरक्षण सील तोडिएको अवस्थामा मतपत्र भण्डारण स्थलवाहिर भेटिएको भनिएको छ । त्यस्तै ज्ञानोदय आदर्श बिद्यालय खनार मतदान केन्द्र नं. २९७ को मतपेटिकाको सुरक्षण सील नभएको, जनता मा.वि. सिमरियामा मतदान केन्द्रमा खटीएका कर्मचारी स्वयमबाट मतदान गरेको, मतदान स्थलभित्र मोवाइल फोन लैजान निषेध गरेपनि नविन शिक्षा निकेतन मा.वि. दुहवी केन्द्रमा मतदान स्थलभित्रै दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले मोवाईल प्रयोग गरी मतदाताहरुलाई मत खसाल्न प्रभावित गरेको दावि गरिएको छ ।

ज्ञापनपत्रमा रुख चिन्ह भएको मतपत्रहरुको स्वस्तिक छापको आकार प्रकार फरक (सामान्य आकार भन्दा ठूलो) रहेको मतपत्रहरुलाई समेत मतगणना अधिकृतले सदर गरेको, चिमडी मतदान केन्द्रमा सुनसरी जिल्ला प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक बिद्यानन्द माझीले मतदानका दिन बिहानदेखि मतदाताहरुलाई रुख चिन्हमा भोट हाल्न सिकाएको पाईएको जिकिर गरिएको छ । भने, पशुपति आधारभुत बिद्यालय सोनापुर बालकुण्ड मतदान केन्द्रमा सहायक मतदान अधिकृत स्वयम् एघार सय भन्दा बढी मतदाताहरुको मत खसालेको दावि गरिएको छ । यी बिभिन्न तथ्यहरुले सुनसरी ३ को चुनाव निष्पक्ष र धाँधली रहित हुन नसकेको ठहर गर्दै निश्पक्ष छानविन र पुनः मतदानको माग गरिएको ज्ञापनपत्र बुझाउन गएका दुहवीका चन्द्रलाल चौधरीले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउन सुनसरी ३ का करिब एक हजार बढि महिला तथा युवाहरु गएका थिए । सुनसरी क्षेत्र नं ३ मा विजय कुमार गच्छदारले ३८ हजार ९ सय ७२ मतले विजयी भएका थिए भने, प्रत्यासी उम्मेद्वार भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् । गच्छदार चौधरीसँग ३२१ को झिनो मतान्तरले विजयी भएका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *