दुई दिनभित्र सबै परिणाम सार्वजनिक हुन्छ : यादव

मंसिर २७, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको र अब दुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा उनले भने ,‘आयोगले भनेकै समयमा मतपरिणाम सार्वजनिक भएको छ, हामीले एक हप्ताभित्रै सबै मतपरिणाम आउँछ भनेर भनेका थियौं, सोही अनुसार प्रत्यक्षतर्फको आइसकेको छ, अब समानुपातिक लगायत सबै परिणाम दुई दिनभित्रै आउँछ, हामी ढुक्क छौं।’

यादवले दलहरूले समानुपातिक तर्फको बन्द सूचीमा राखेका उम्मेदवारका नामहरूलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन्। प्रमुख आयुक्त यादवले भने,‘दलहरूले आयोगमा बुझाएको बन्द सूची अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरूलाई प्राथमिकता दिनुपर्छ, सबैको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पनि दलहरूले यसलाई अनिवार्य रूपमा फलो गर्नुपर्छ।’ उनले समानुपातिकमा बन्द सूचीका नामहरूलाई तलमाथि गर्न नपाईने स्पष्ट पारेका छन्।

निर्वाचन सफल रूपमा सम्पन्न गरेको भनेर अहिले विभिन्न निकाय, संघसंस्थाहरूले आफूहरूलाई बधाई तथा धन्यवाद दिइरहेको उल्लेख गर्दै यादवले थपे,‘निर्वाचन आयोगले यो निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका र व्यवस्थापनको मूल्यांकन गर्ने जिम्मा तपाई सञ्चारकर्मीहरूको पनि हो, हामीले गरेको कामको अहिले चौतर्फी प्रशंसाहरू भैरहेका छन्, हामी ज्यादै खुशी छौं, उत्साहित छौं।’

स्थानीय तहको निर्वाचनदेखि हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई सफल रूपमा सम्पन्न गराउनको लागि ज्यादै अनुकुलात्मक वातावरण सिर्जना गर्न मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उनले धन्यवाद एवम् बधाई समेत दिए।

त्यस्तै, नागरिक समाज, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षक सघंरसंस्थाहरु, राजनीतिक दल, उम्मेदवार, दलका भातृसंगठन, सुरक्षा निकाय, नेपाल सरकार र आम मतदाताहरूको उल्लेखनीय र उल्लासमय सहभागिताका कारण निर्वाचन सफल रूपमा सम्पन्न भएको भन्दै उनले सबैमा धन्यवाद समेत प्रदान गरे। यादवले थपे,‘जनता बधाईका प्रमुख पात्र हुन्, मतदाताहरूप्रति म शीर निहुर्याउन चाहान्छु।’

उनले निर्वाचनमार्फत आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति पनि आभार व्यक्त गरे। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुरक्षा चुनौतीबीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताएका हुन्।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणको निर्वाचनमा ६८ दशमलव २ प्रतिशत मत खसेको थियो। प्रमुख निर्वाचन आयुक्त यादवले दुवै चरणको निर्वाचनमा आम मतदाताको उल्लेख्य सहभागिता रहेको दाबी समेत गरे।
त्यस्तै उनले सबैभन्दा धेरै बदर मत ५।१८ प्रतिशत भएको पनि जनाए । समानुपातिकतर्फको नतिजा ७ वटै प्रदेशको छुट्टाछुट्टै नतिजा तयार पार्ने र परिणाम सूचिलाई प्रदेश प्रमुखलाई बुझाउने समेत जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *