कैलाली २ मा वाम गठबन्धनका झपट रावल बिजयी

कैलाली, मंसिर २७ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका झपट रावल २५ हजार १५७ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राती साढे नौ बजे घोषणा भएको अन्तिम मत परिणाम अनुसार रावल १ हजार ८४४ मतान्तरमा विजयी गरेका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार एवम् पूर्व मन्त्री मोहनसिंह राठोरलाई पराजित गरेका छन् । राठोर शिक्षा राज्यमन्त्री हुँदा रावल उनकै स्वकीय सचिव थिए । चुनावको मुखमा एमाले पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका राठोरले २३ हजार ३१३ मत मात्र प्राप्त गरे ।

उनी एमाले नेता एवम् आफ्नै पूर्व स्वकीय सचिवसंग पराजित भएका छन् । कैलाली क्षेत्र नम्बर २ मा जम्मा ५८ हजार ८७८ मत खसेको थियो । निर्वाच क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २ को प्रदेशसभा सदस्यमा वाम गठबन्धन नै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा १ मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गरे । प्रदेशसभा २ मा माओवादी केन्द्रका नन्दबहादुर साउँद १२ हजार ७७ मत प्राप्त गरी विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकाका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गरे । यसअघि कैलाली जिल्लाको प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा निर्वाचन क्षेत्र नं १ मा राजपा नेपालका रेशमलाल चौधरी, क्षेत्र नं ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरी, क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्ट र क्षेत्र नं ५ मा एमालेका नारदमुनि राना विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =