कर्मचारी नै किनेर गच्छदारले गराए धाँधली (फाेटाे सहित)

मङ्सिर २६, सुनसरी । सुनसरी क्षेत्र नं. ३ को प्रतिनिधिसभा निर्वाचनमा व्यापक धाँधली भएको पाइएको छ । गत मङ्सिर २१ गते भएको निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ को निर्वाचनमा निर्वाचन कार्यालयका प्रतिनिधिले नै मतदान गरेको देखिएको छ । आयोगले मतदान कार्यमा संलग्न कुनै पनि अधिकारी, प्रतिनिधि र पर्यवेक्षक, सेना प्रहरी, म्यादी प्रहरीलाई समेत मतदानमा सहभागी हुन नपाउने भनेपनि यी मतदान अधिकृतले भने सबैले देख्ने गरी मतदान गरेका छन् ।

यो फोटो सिमरिया स्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रबाट लिइएको हो । यी अधिकृतले आफूले लगाएको क्याप देब्रे मोडेर दिउसो करिब १२ बजेतिर मतदान गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार यी कर्मचारीले निर्वाचन अधिकृत सो मतदान केन्द्रका मतदान अधिकृतकै निर्देशनमा मतदान गरेका हुन् । उनले आफैँले मतदान गरे अथवा कसैको सहायतामा गरे स्पष्ट नखुलेपनि मत पेटिकामा उनले मतपत्र खसाएको स्पष्ट देखिन्छ । जनता माविमा ३ हजार १ सय ९१ मतदाता सङ्ख्या रहेको थियो ।

मतदान गर्न आउने मतदाताले मतदानस्थलमा कुनै पनि प्रकारको मोबाइल फोन, हातहतियार तथा अन्य वस्तुहरू लैजान नपाउने प्रावधान थियो । तर, यी तस्बिरमा देखिएका व्यक्तिले सुनसरी–३ को नवीन शिक्षा निकेतन उच्च माध्यामिक विद्यालयको मतदान स्थलमा खुलेआम मोबाइल प्रयोग गरे । मतदान अधिकृत र प्रहरीकै अघिल्तिरबाट फोन गरे, एसएमएस पनि गरे । करिब आधाघण्टा सम्म मतपेटिका अघिल्तिर बसेर यिनले मोबाइल खेलाईरहँदा मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरीले केही गरेनन् भने, निर्वाचन अधिकृत समेत नदेखेजस्तो गरेर चुपचाप भइरहे ।

यो मतदान केन्द्रबाट नेकपा एमालेबाट बाम गठबन्धनकी उम्मेदवार भगवती चौधरी र वहालवाला उपप्रधानमन्त्री नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार विजयकुमार गच्छदारले मतदान गरेका थिए । यो फोटो बिहान करिब ९ बजेको हाराहारीमा लिइएको स्रोतको दाबी छ । फोटोमा उनले स्पष्ट रूपमा देब्रे हातमा एन्ड्रोइड मोबाइल बोकेको छन् । स्रोतका अनुसार उनले त्यहाँबाट दायाँ बाँया फर्किएर करिब १५ मिनेट जति भिडियो पनि खिचेका छन् । स्रोतका अनुसार यी व्यक्ति नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता हुन् भने, विजयकुमार गच्छदारका खास मान्छे हुन् ।

अहिले सुनसरी क्षेत्र नं. ३ को मतगणनामा धाँधली भएको भन्दै विवाद भइरहेको छ । हिजो बिहान करिब ९ बजेतिर सुनसरीको सदरमुकाम इनरुवा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा सो क्षेत्रको मतगणना भइरहँदा ९ ओटा मतपत्रहरु अर्धकट्टी सहित फेला परेपछि विवाद उत्पन्न भएको थियो । यसका साथै मतपेटिकामा लगाइएको सिल च्यातेर फालेको अवस्थामा र मतदान स्थलको मुचुल्काको फाइल समेत मतगणना स्थलको फुलबारीमा फालिएको अवस्थामा भेटिएपछि नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले ‘प्रतिष्पर्धी उम्मेदवार गच्छदारले प्रहरी प्रशासन र कर्मचारी नै लगाएर धाँधली गरेको’ भन्दै मतगणना स्थगित गरेकी थिइन् । त्यसपछि अवरुद्ध मतगणना आज बिहान नेकपा एमालेका प्रतिनिधि विनै पुनः गणना गर्ने कार्य भइरहेको छ । निर्वाचन आयोगले तत्काल विवादित क्षेत्रको मतगणना थाँति राखेर अन्य क्षेत्रको मतगणना गर्न निर्देशन दिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार चौधरीले २९ हजार ३ सय २६ मत प्राप्त गरेकी थिइन् भने, गच्छदारले २९ हजार १ सय ७१ मत ल्याएर चौधरीलाई पच्छ्याईरहेका थिए । चौधरी र गच्छदारको मतान्तर १सय ५५ रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *