चुनाव जितेपछि प्रचण्डले गरे घरदैलो अभियान

मंसिर २६, चितवन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन् ।

शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुदैछ ।

बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हँदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हुदैछ । वाम गठबन्धनका निर्वाचन परिचालन संयोजक सुर्य सुवेदीका अनुसार गाडी नरोकीकनै दाहालले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ ।

मतदातालाई सडकमा नै गाडीमाथिबाट उनले धन्यवाद दिएका छन् । सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन् । वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र (क) प्रदेशबाट निर्वाचित नेकपा (एमाले)का कृष्ण भूर्तेल र ख प्रदेशबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामलाल महतो पनि सहभागी भएका छन् ।

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न आएका हुन् । उनले राप्रपा(प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गरेका थिए । दाहालले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *