दुई उपप्रधानमन्त्री सहित पाँच स्थानको परिणाम आउन बाँकी, कस्को मत कति ?

मंसिर २६, काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको अब ५ स्थानको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ ।

सुनसरी क्षेत्र नम्बर–३, स्याङ्जा क्षेत्र नम्बर–१, स्याङ्जा क्षेत्र नम्बर–२, कैलाली क्षेत्र नम्बर–२ र सर्लाही क्षेत्र नम्बर–४ को मतपरिणाम आउन बाँकी रहेको छ । केही निर्वाचन क्षेत्रमा मतगणनाका क्रममा भएको विवाद र केहीमा मतगणनापूर्व भएको विवादका कारण ढिलोगरी मतगणा सुरु भएपछि मतपरिणाम आउन ढिलो भएको हो ।

सुनसरी क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेतासमेत रहेका विजयकुमार गच्छदार र भगवती चौधरीबीच प्रतिस्पर्धा भैरहेको छ । गच्छदार बहालवाला उपप्रधानमन्त्री पनि हुन् । एमाले नेतृ चौधरी र गच्छदारबीच कडा प्रतिस्पर्धा रहेको छ । चौधरी गच्छदार भन्दा केही मतले अगाडि रहेकी छन् । ताजा मतपरिणामका अनुसार चौधरीका पक्षमा २९ हजार ३२६ मत खसेको छ भने उनलाई पछ्याउँदै गच्छदारले २९ हजार १७१ कत प्राप्त गरेका छन् । २४ घण्टा भन्दा लामो विवादपछि अहिले मतगणना सुरु भएको छ ।

कैलाली–२ मा पनि अन्तिम मतपरिणाम सार्वजनिक हुन ढिलो भैरहेको छ । यो क्षेत्रमा एमालेबाट झपटबहादुर रावल र नेपाली कांग्रेसका उमेदवार मोहनसिंह राठौरबीच प्रतिस्पर्धा भैरहेको छ । रावलका पक्षमा १३ हजार २८२ मत खसेको छ भने राठौरका पक्षमा ११ हजार १८८ मत खसेको छ । यो क्षेत्रमा पनि अहिले मतगणना भैरहेको छ ।

स्याङ्जा क्षेत्र नम्बर–१, स्याङजा क्षेत्र नम्बर–२ मा मतगणा सुरु गर्न नै ढिलो भएपछि अहिलेसम्म अन्तिम मतपरिणाम आउन ढिलो भएको हो । स्याङ्जा–१ मा नेकपा एमालेका नारायणप्रसाद मरासिनी र नेपाली कांग्रेसका राजु थापाबीच प्रतिस्पर्धा भैरहेको छ । ताजा मतपरिणाम अनुसार मरासिनीको १२ हजार ४८६ मत रहेको छ भने कांग्रेसका थापाको पक्षमा ९ हजार २ मत प्राप्त भएको छ ।

स्याङ्जा क्षेत्र नम्बर–२ को पनि अन्तिम मतपरिणाम आइसकेको छैन । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ र एमालेकी पद्मा कुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा भैरहेको छ । अर्यालले श्रेष्ठलाई फराकिलो मतान्तरले पछि पारेकी छन् । ताजा मतपरिणाम अनुसार आर्यालले २२ हजार १४१ मत पाएकी छन् भने श्रेष्ठका पक्षमा १७ हजार ९६४ मत खसेको छ ।

सर्लाही क्षेत्र नम्बर–४ को पनि अन्तिम नतिजा आउन बाँकी छ । यो क्षेत्रमा राजपा र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भैरहेको छ । कांग्रेका उमेदवार अकरेशकुमार सिंह १५ हजार ९३६ मत सहित दोस्रो स्थानमा रहँदा पहिलो स्थानमा राजपाका रोकशकुमार मिश्रले १६ हजार ३१८ मत प्राप्त गर्दै लिड गरिरहेका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *