‘चुनावका बेला काँग्रेसलाई जे जे भनेपनि अब देश निर्माणमा सँगै अघि बढ्छौँ’

झापा,मंसिर। २५ । झापामा विजयी हासिल गरेपछि पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बधाइ दिनेहरुको खुट्टा टेक्ने ठाउँ नै थिएन । कार्यक्रममा ओलीले आफूले नभई सिंंगो झापाली र देशले विजयी हासिल गरेको भन्दै अब देशलाई समृद्धितर्फ अघि बढाउने ढोका खोलिएको बताए ।

 

उनले अब आफूहरु नेपाली कांग्रेससँगै मिलेर देश विकासमा हातेमालो गर्ने पनि उनले बताए । ‘काँग्रेस इतिहास बोकेको पार्टी हो । सबैले उसलाई सम्मान गर्नुपर्छ ।’ ओलीले भने,‘यसकारण हामी काँग्रेसलाई पनि सँगै मिलाएर देश विकासमा अघि बढ्नेछौँ । सोमबार निर्वाचित भएको प्रमाणपत्र लिन झापा पुगेका ओलीले चुनावका बेला जेसुकै भने पनि कांग्रेससँग आगामी दिनमा मिलेर अघि बढ्ने पनि बताए ।

‘होलान् चुनावी प्रचारप्रसारका क्रममा हामी कसैले काँग्रेसका विरोध गर्यो । उसले पनि हामीलाई लोकतन्त्र विरोध भनेको हामीले सहन सकेनौँ । तर अब त्यो क्षण भरका लागि मात्र भयो । सबैले गल्तिको प्रायश्चित गर्नुपर्छ । हामीले पनि गरेका छौँ । अब सबै मिलेर अघि बढ्नु देशको हित हुनेछ ।’ उनले भने,‘चुनाव प्रचारका क्रममा जे–जे भनेपनि कांग्रेस इतिहास बोकेको पार्टी हो । पार्टीका नेताहरू मेरा व्यक्तिगत मित्र पनि छन्। हामीले मिलेर संघर्ष गरेका छौं,’ ओलीले फेरि थपे ‘यो नतिजापछि पनि हामी लोकतन्त्रका आधारभूत कुरामा कांग्रेससँग मिलेर जान्छौं।’

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा सोमबार स्थानीय रंगशालामा आयोजित विजय सभालाई सम्बोधन गर्दै अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने पनि उनले बताए । यसैरी उनले लोकतान्त्रिक अभ्यासमा लोकतन्त्रप्रति सधैं प्रतिबद्ध रहने भन्दै नयाँ सरकारले जनताले खोजेको शान्ति सुरक्षा यथोचित ढंगले गर्ने बताए । कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले मुलुकमा प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई न्यूनीकरण गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *