प्रदेश २ का ३ जिल्लामा बाम गठबन्धन निल

मंसिर २५, काठमाडौँ । देशभर सशक्त प्रदर्शन गरेको बाम गठबन्धन प्रदेश नम्बर दुईमा भने कमजोर देखिएको छ । हालसम्म गठबन्धनले ३ वटा सिटमा मात्र जित हासिल गर्न सकेको छ । सप्तरी, बारा र पर्सामा वाम गठबन्धनले एक सिट पनि जित्न सकेन ।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३२ वटा क्षेत्र रहेको प्रदेश नम्बर दुईमा मधेसवादी दलहरुले वर्चश्व कायम राखेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ७ तथा संघीय समाजवादी फोरमले ६ वटा सिटमा जीत हासिल गरेको छ । दुई पार्टी क्रमशः ३ तीन स्थानमा अगाडि रहेका छन् । नेपाली काँग्रेसले हालसम्म ४ सिट जित्न सकेको छ ।

सप्तरी जिल्लामा बाम गठबन्धनले एक पनि सिट जित्न सकेन । यस जिल्लामा फोरमले २ तथा राजपा र नेपाली काँग्रेसले एक एक सिट जितेको छ । बाराका चार निर्वाचन क्षेत्रमा बाम गठबन्धनले एक पनि सिट जित्न सकेन । यहाँ दुईमा फोरम र एक–एक सिटमा काँग्रेस र राजपा विजयी बनेको छ । पर्सामा पनि बाम गठबन्धन निल बन्ने सम्भावना छ । चार क्षेत्रमध्ये एकमा फोरम विजयी भएको छ भने दुईमा अग्रता बनाइरहेको छ । एक क्षेत्रमा काङ्ग्रेस अघि रहेको छ ।

सिरहामा मिश्रित नतिजा देखिएको छ । ४ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एकमा एमाले र एकमा राजपा विजयी भएको छ । बाँकी दुई स्थानमध्ये एकमा नेपाली काङ्ग्रेस र एकमा माओवादीको अग्रता रहेको छ । यहाँ भने बाम गठबन्धनको स्थिति राम्रो छ । धनुषामा चार मध्ये एकमा राजापा र एकमा फोरम विजयी भएको छ । बाँकी दुई स्थानमध्ये एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

महोत्तरीमा चार निर्वाचन क्षेत्र रहेको छ । यसमध्ये एकमा माओवादी र एकमा राजपा विजयी भएको छ । बाँकी क्षेत्रमा राजपा र फोरमको अग्रता रहेको छ । सर्लाहीमा हालसम्म एक सिटमा राजपा विजयी भएको छ । बाँकी २ सिटमा राजपा र एकमा माओवादी अगाडि छ । रौतहटमा मिश्रित नतिजा आएको छ । चार सिटमध्ये दुईमा काँग्रेस, एकमा माओवादी र एकमा राजपा विजयी भएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *