दुवै निर्वाचनमा औसत ६८।६३ प्रतिशत मतदान – निर्वाचन आयोग

काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८।६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत र दोस्रो चरणको निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको थियो । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा भएको निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदातामध्ये २० लाख ७२ हजार ६५७ मतदाताले मतदान गर्नुभएको थियो ।

यसैगरी, दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा भएको निर्वाचनमा कुल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातामध्ये ८५ लाख १४ हजार ८६४ मतदाताले मतदान गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी, आयोगले मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज दिउँसो ४ बजेसम्म प्राप्त विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा तीन महिलासहित ९८ र प्रदेशसभा सदस्यतर्फ १० महिलासहित २०९ जना प्रतिनिधि निर्वाचिन भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।

यसैगरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६६ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका २५६ निर्वाचन क्षेत्रमध्ये १४३ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *