चार सय महिला उम्मेद्वारमध्ये हालसम्म वाम-गठबन्धनबाट आठ महिलाको मात्रै जित (नामावलीसहित)


“
काठमाडौं, मंसिर २४ । दोस्रो चरणको निर्वाचन अन्र्तगत प्रतिनिधिसभातर्फ १ सय ३० र प्रदेशतर्फ २ सय २० महिला उम्मेदवार छन् । हालसम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना महिला मात्रै विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका दुई र प्रदेशसभा सदस्यमा छ जना महिला विजयी भएका छन् ।
पहिलो चरणमा निर्वाचन भएको रुकुम पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । वाम गठबन्धन बाट माओवादी केन्द्रकी उम्मेदवार रोकाले १० हजार ४ हजार ३४ मत ल्याएर विजयी भएकी हुन् ।
दोस्रो चरणमा वाम गठबन्धबाट उम्मेदवार बनेकी पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।
माओवादी केन्द्रकी नेता भुसालले २४ हजार ३७ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका मदन अमात्यलाई १ हजार ७ सय ७ मतले पराजित गरेकी हुन् । अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका छन् ।
प्रदेशसभा सदस्यमा छ महिला विजयी
प्रदेश सभा सदस्यमा छ जना महिला विजयी भएका छन् । पहिलो चरणको निर्वाचनमा म्याग्दीको प्रदेशसभा ‘ख’ बाट एमाले उम्मेदवार नरदेवी पुन मगर विजयी भएकी छन् । संयुक्त वाम गठबन्धनकी उम्मेदवार एमालेकी पुनले १० हजार ८ सय ६८ मत ल्याएर विजय हात पारिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले सात हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।
यस्तै बझाङ प्रदेशसभा ‘ख’ बाट माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल थापा विजयी भएकी छन् । देवकीले १६ हजार ७ सय ४३ मत ल्याएर विजय हासिल गरेकी हुन् । नेपाली काँग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत पाएका छन् ।
मकवानपुर प्रदेशसभा क्षेत्र नं १ को ‘क’ बाट उम्मेदवार कुमारी मोक्तानले निकटतम प्रतिद्वन्द्वी भन्दा १२ हजार ९ सय ९६ मत बढी ल्याई विजय भएकी हुन् । उनले २७ हजार १ सय ३२ मत प्राप्त गरेकी छन् । लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले १४ हजार १ सय ३६ मत प्राप्त गरेका थिए ।
काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ मा एमालेकी रमा आलेमगर विजयी भएकी छन् । उनले ९ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार धर्मनन्द्र श्रेष्ठले ७ हजार १७ मत प्राप्त गरे ।
उदयपुर क्षेत्र नं.२ ‘ख’ प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार कला घले विजयी भएकी छन् । घलेले १३ हजार ४ सय ५९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामकुमार खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् । घलेले ४ हजार ४ सय ८४ को मतअन्तरले विजय हात पारिन् ।
ललितपुर क्षेत्र नं. १ को ‘क’ को प्रदेशसभा सदस्यमा लालकुमारी पुन विजयी भएकी छिन् । उनी १२ हजार ८४१ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटम् प्रतिस्पर्धी कांग्रेसका ऋषिराम घिमिरेलार्इ २ हजार ७३६ मत अन्तरले पराजित गरिन् । घिमिरेले १० हजार १ सय ५ मत पाएक छन् ।
पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिला चुनावी उम्मेदवार थिए । जसमा प्रतिनिधि सभातर्फ १६ र प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट तीन जना महिला उम्मेदवार थिए ।
त्यसैगरी प्रदेशसभातर्फ चुनावी मैदानमा रहेका २० जना महिला मध्ये छ जना महिला ठुला दलबाट छन् ।
“
