प्रधानमन्त्री देउवा २८ हजार ४४ मतसहित विजयी

डेल्धुरा, मंसिर २४ ।  प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवा २८ हजार ४४ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खगराज भट्टले २१ हजार १ सय १५ मत प्राप्त गर्नुभएको छ । भट्टले भन्दा ६ हजार ९ सय २९ मत बढी ल्याएर देउवा विजयी हुनुभएको हो ।

डडेल्धुराको प्रदेशसभा ‘क’ मा एमालेका पठान सिंह बोहरा तथा प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका कर्णबहादुर मल्ल विजयी हुनुभएको छ ।

छैटौंपटक डडेल्धुराबाट विजयी शेरबहादुर देउवालाई नजिकबाट चिनौँ

प्रधानमन्त्री शेरबहादुर देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस— ५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । देउवा बुबा श्रीप्रसाद र आमा द्रोपदीदेवीका जेठा छोरा हुनुहुन्छ ।

कक्षा ८ कक्षासम्म डडेल्धुराको महेन्द्र माविमा पढेका देउवाले त्यसपछि डोटीमा कक्षा ९ र १० सम्म पढ्नुभयो । उहाँले २०१९ सालमा एसएलसी पास गर्नुभयो । एसएलसीपछिको पढाई काठमाडौंमा गर्नुभएका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तह पूरा गर्नुभएको छ ।

उहाँ २०१७ सालदेखि राजनीतिमा लाग्नुभएको हो । २०३६ सालको आन्दोलन र जनमत संग्रहमा पनि उहाँ सक्रियतापूर्वक लाग्नुभयो । देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो निर्वा्चित अध्यक्ष हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनमा देउवा युवा नेताका रुपमा चर्चित हुनुभयो ।

२०४६ मा चुलिएको देउवाको चर्चा २०४८ सालको आम चुनावमा पनि देखियो । २०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उहाँ २०४८ सालमा गृहमन्त्री हुनुभयो । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव तथा २०६४ र २०७० सालको संविधानसभा चुनावमा डडेल्धुराबाट जित्नुभयो ।

२०५९ सालमा कांग्रेस पार्टी विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस गठन गरी देउवा त्यसको सभापति हुनुभयो । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहेपनि उहाँ सुशील कोइरालासँग पराजित हुनुभयो । २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति बन्नुभएको हो ।

देउवा ४ पटक प्रधानमन्त्री भैसक्नुभएको छ । २०५२ साल भदौ २६ गते देउवा राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गर्नुभयो । २०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बन्नुभयो । पार्टीभित्रको अन्तरसंघर्ष चर्किएपछि देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नुभयो तेस्रोपटक ०६१ साल जेठ २१ गते प्रधानमन्त्री बन्नुभयो । यस्तै २०७४ सालको जेठ २३ गते माओवादीको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री हुनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *