बझाङका सबै क्षेत्र वाम गठबन्धनको कब्जामा

मंसिर २२, बझाङ । प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ । घोषित परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा (एमाले)का भैरवबहादुर सिंहले नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई सात हजार ७०२ मत अन्तरले पछि पार्दै जित हासिल गरेका छन् । भैरवले ३४ हजार ६१२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पृथ्वीले २६ हजार ९१० मत प्राप्त गरेका थिए ।

यस्तै प्रदेश (क) मा पनि नेकपा (एमाले)का उम्मेदवार अर्जुनबहादुर थापा विजयी भउका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रा जोशीलाई चार हजार ६७१ मतको अन्तरले पराजित गरेका हुन् । थापाले १७ हजार ८६८ र जोशीले १३ हजार १९७ मत प्राप्त गरेका थिए ।

प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार देवकी मल्ल विजयी भएकी छन् । उनले नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहलाई दुई हजार ५०१ मतको अन्तरले हराएकी हुन् । मल्लले १६ हजार ७४३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी सिंहले १४ हजार २४२ मत प्राप्त गरेका थिए ।

मत परिणाम घोषणा भएपछि सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै विजयी उम्मेदवारले संविधानको कार्यान्वयन, जिल्लाको विकास र समृद्धिका लागि आफूहरुले भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।
–––

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *