भारत र चीनबीच नाथुला भन्ज्याङमा तनाव

एजेन्सी । चीनले तिब्बत र सिक्किमबीचमा रहेको उसको भूभागमा भारतीय पक्ष अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाएको छ। उक्त विवादले दुई देशबीच तनाव बढाएको छ । चिनियाँ अधिकारीहरुले सीमामा खटिएका भारतीय सुरक्षाकर्मीहरुले आफ्नो भूभागमा हुने “”सामान्य गतिविधि””मा अवरोध पुर्याएको बताएका छन् र ती सुरक्षाकर्मीलाई तुरुन्तै फिर्ता गर्न भारतलाई भनेका छन्।

भारतले पनि हालसालै चिनियाँ सेना उसको सीमामा अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाएको थियो। नाथुला भन्ज्याङ तिब्बतमा रहेका हिन्दु र बौद्ध धर्मका पवित्रस्थल भ्रमण गर्न भारतीय तीर्थालुहरुले प्रयोग गर्ने क्षेत्र हो।

तनाव

उक्त क्षेत्रमा चीन र भारतबीच सन् १९६७ मा भिडन्त भएको थियो, र अहिले पनि बेला बेलामा तनाव बढ्ने गर्छ ।बीबीसीका दक्षिण एसिया सम्पादक इथिराजन अनबरसन भन्छन्, पछिल्लो घटना केही वर्षयता दुई राष्ट्रबीचको तनावमध्ये सबैभन्दा गम्भीर खालको जस्तो देखिन्छ । रोयटर्सले चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै पछिल्लो गतिविधिले “”शान्ति खलबल्याउन”” सक्ने चेतावनी दिएको बताएका छन् । चीनले आफ्नो सिमानाभित्र पर्ने भन्दै आएको क्षेत्रमा सडक निर्माण गर्दा पनि भारतले बाधा पुर्याएको आरोप लगाएको छ ।

आरोप

यस आरोपबारे भारतबाट अहिलेसम्म आधिकारिक टिप्पणी आएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्ला साताहरुमा दुवैतिरका सीमारक्षकहरुबीच तनावका घटना भएका छन्।

ती विवरणमा चिनियाँ सेनाले सिक्किममा प्रवेश गरेर त्यहाँ रहेका भारतीय सेनाका दुई अस्थायी ‘बंकर’ ध्वस्त गरिदिएको आरोप लगाइएका छन्।

यी तनावका कारण बेइजिङले आधिकारिक रुपमा सीमाक्षेत्र वारपार हुने तीर्थयात्रा रोकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *