६७ प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

मंसिर २१, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४५ जिल्लामा भएको दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन उत्साहका साथ शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिएका हुन् ।

निर्वाचन सम्पन्न भएलगत्तै आयोगले काठमाडौंमा पत्रकार सम्मेलनमा गरी निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान समेत गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले सबैभन्दा बढि मत गुल्मीमा ७१ प्रतिशत मत खसेको जानकारी दिए । विहिबार ४५ वटा जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको छ । जसमध्ये अर्घाखाँची जिल्लाको २ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको र सो निर्वाचन एक दिन भित्रै सम्पन्न गर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मतगणना भने सुरु भईसकेको जनाएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै पहिलो चरणको ३२ जिल्ल्लामा सम्पन्न निर्वाचनको मतगणना सुरु भईसकेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिए । निर्वाचन आयोगले दोस्रो चरणमा सम्पन्न निर्वाचनको पनि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भईरहेको र भोली विहानसम्म मतगणना सुरु भईसक्ने पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले मतदानमा सहभागी भएकोमा सबै मतदाताप्रति आभार पनि व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा आवश्यक सबै खालको साथ र सहयोग उपलब्ध गराएकोमा सरकारप्रति आभार पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *