निर्वाचन आयोग भन्छ,– ‘पाँच बजेपछि एक जना पनि भित्र पस्न पाउँदैन’ तर,५ बजेपछि सुनसरी–३ मा एक हजार बेसी मतदाताहरुको भीड

सुनसरी, मङ्सिर २१ । मतदान गर्ने समय सकियो तर निर्वाचन आयोग भने ‘टुलुटुलु’ के हेरेर बस्दैछ ? हो, मतदान गर्ने समय सकियो तर सुनसरी क्षेत्र नम्बर–३ मा भने साँझ परेपछि मतदाताहरुको ओइरो लागेको छ । बिहान–दिउँसोको समयमा मतदान गर्न आउन नभ्याएका उनीहरू पाच बजेपछि धमाधम सुनसरी–३ स्थित श्री मजदुर किसान माध्यमिक विद्यालय पुगेका छन् ।

निर्वाचन आयोगले मतदान गर्ने समय पाँच बजेसम्म तोकेपनि एक हजारभन्दा बढी मतदाताहरुको साढे पाँच बजेको अवधिमा भिड लागेको छ ।

करिब दुई बजेतिर काँग्रेसी कार्यकर्ताहरुले उक्त क्षेत्रमा बुथ कब्जा गरेका थिए । तर, पछि सुरक्षाकर्मीले यसबारे जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएपनि अहिले त्यो अवस्था दोहोरिने निश्चित झै बनेको छ ।

यता,मतदानबारे निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालसँग परामर्श लिँदा उनले कुनै पनि हालतमा तोकिएको समयअवधि भन्दा बाहिर मतदान गर्न नपाउने बताए । तर, पाँच बजेपछि पनि मतदान केन्द्रभित्र छिरिसकेका मतदाताहरुले मतदान गर्न पाउने बताउँदै उनले यो विषयमा पनि त्यहाँका निर्वाचन अधिकृतहरुले सर–सल्लाह गरेर काम कारबाही अघि बढाउनुपर्ने जानकारी गराए । ‘गेट बाहिर रहेका मतदाताहरुले पाँच बजेभन्दा पछि एक सेकेन्ड पर गएपनि भोट दिन पाउँदैन ।’ प्रवक्ता ढकालले भने,‘पाँच बजेभित्र गेटभित्र छिरेका मतदाताहरुले भने मतदान गर्न पाउँनेछन् ।’

सुनसरी क्षेत्र नम्बर–३ को अवस्थाबारे आफू अपडेट भइनसकेको तर कुनै पनि हालतमा ती बाँकी मतदाताहरुले भोट गर्न नपाउँने उनले बताए ।

सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेकी भगवती चौधरी र काँग्रेसबाट विजय गष्च्छदार उम्मेदवार रहेका छन् ।

किन ढिला पुगे मतदाता ?
बिहान–दिउँसोको फुर्र्संदको समयमा मतदान गर्न नभ्याएका उनीहरूलाई विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले मोटरसाइकल, भ्यानमार्फत मतदान गर्न ओसारिरहेको बताइन्छ । यसबारे त्यहाँका स्थानीय पत्रकारहरुसँग परामर्श लिँदा पत्रकारलाई भित्र छिर्न नदिएको र राजनीतिक दबाबका कारण पाँच बजेपछि पनि आफ्नो पक्षमा मतदाताहरुलाई मतदान गर्न लगाउने खेल भइरहेको बताइएको छ ।

बत्ति छैन?
राजनीतिक दलहरुले कुनै पनि हालतमा मतदाताहरुलाई मतदान गर्न पाउनु पर्ने अधिकार रहेको भन्दै निर्वाचन अधिकृतहरुलाई धाकधम्कि समेत दिइएको बताइएको छ । भने, मतदान स्थलमा अँध्यारो छ । सबैतिर छर्लंग देखिने उज्यालोको व्यवस्था छैन । यसकारण पनि मतदाताहरुलाई व्यवस्थापन गर्न हम्मे हम्मे भइरहेको र राजनीतिक दलहरु यहीँ मौका छोपेर बुथ कब्जा गर्ने दाउमा रहेको पनि बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *