सिके राउत पक्राउ

मंसिर २१, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ । राउतको धम्की पछि तराईका केही गाउँमा मतदाता भोट खसाल्न जान नसकेको बताईन्छ ।

यसअघि पनि पटक पटक पटक पक्राउ पर्दै र छुट्दै आएका राउत स्वतन्त्र मधेश गठबन्धनका नाममा देश टुक्राउने अभियानमा लागेका ब्यक्ति हुन् ।

 

पहिलोचोटी २८ भदौ ०७१ मा उनलाई मोरङको रंगेलीबाट पक्रेर ‘राज्य विप्लव’को मुद्दा चलाइएको थियो । त्यसबेला मोरङ जिल्ला प्रहरी कार्यालयमा बयान गराई उनलाई काठमाडौं विशेष अदालत लगिएको थियो ।

गृह प्रशासनले राज्य विप्लवको मुद्दा दायर गर्दै कम्तीमा जन्मकैदको माग गरे पनि विशेष अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो । तर, उनले धरौटीमा छुट्न अस्वीकार गरे । गृह प्रशासनले पुनः त्यही मुद्दा सर्वोच्चमा दर्ता गरायो । धरौटीमा छुट्न नमानेपछि राउतलाई डिल्लीबजार जेल चलान गरियो । जेलमा मानसिक/शारीरिक यातना गरिएको, अभिव्यक्ति स्वतन्त्रता हनन् गरिएको आदि मुद्दा उठाएर आमरण अनसन शुरु गरे ।

सर्वोच्चले पनि विशेष अदालतकै आदेशलाई सदर गर्दै धरौटीमा छोड्न भन्यो । राउतका समर्थकले धरौटीका लागि मधेशमा ‘एक रुपैयाँ संकलन’ अभियान चलाए । उक्त अभियानबाट उठेको रकम जम्मा गर्दै उनी धरौटीमा रिहा भए । १० मंसिर ०७१ मा उनी पुनः पक्राउ परे ।

काठमाडौंका खुलामञ्चमा मुलुक विखण्डनको पृष्ठपोषण गर्दै आमसभा गरेपछि उनी पक्राउ परेका थिए । सार्क सम्मेलनका बेला पारेर प्रदर्शन गरेका कारण उनी समातिएका थिए । त्यसबखत उनीलगायत केही समर्थक पनि पक्राउ परे । दुई दिनपछि उनीहरूलाई छोडिएको थियो ।प्रहरीको पक्राउपछि पनि उनका गतिविधि रोकिएनन् । जनकपुर, राजविराज, बारा, नवलपरासी, रूपन्देही, कपिलवस्तु आदि जिल्लामा सार्वजनिक कार्यक्रम गरे । १४ पुस ०७१ मा जलेश्वरको कार्यक्रममा जाने क्रममा पुनः प्रहरीले नियन्त्रणमा लियो र रात परेपछि छोडिदियो । १९ पुसमा विराटनगरमा पनि त्यस्तै सभा गर्दै गर्दा उनी पक्राउ परे र छाडिए । २४ पुसमा वीरगञ्जमा फेरि कार्यक्रमस्थलबाटै पक्राउ परे र सप्तरी लगेर छाडिए ।

पक्राउ, धरपकड, अदालतको पेसी जारी रहँदै जाँदा १० वैशाख ०७२ मा विशेष अदालतले उनलाई सफाइ दियो । ३ माघ ०७२ मा सर्वोच्चले पनि सफाइ दियो । सर्वोच्चले राउतको गतिविधिले राष्ट्रिय सुरक्षामा कुनै खतरा नभएको भन्दै सफाइ दिएको थियो । राउतले पनि सरकारी वकिलसँगको बयानमा सार्वजनिक कार्यक्रममा राष्ट्र विखण्डनको कुरा नगरेको बयान दिएका थिए । आफूले मधेशका हक/अधिकार र समृद्धिको मुद्दा उठाएको भन्दै विखण्डनको पक्षमा नरहेको बयान दिएपछि उनले सफाइ पाएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *